प्रदीप गुप्ता
१४,मंसिर २०७९ बुधबार
बाँके राप्ती सोनारी गाऊपालिका वडा नं. ७ पिप्रहवाकी अफसरुला खाँको दाईजोकै कारण उनकै श्रीमान् र जेठाजुले हत्या गरेको माइती पक्षले दाबी गरेको छ । उनि कात्र्तिक १६ गते आफ्नै घरको कोठामा पलङ माथि दुवै खुट्टाका घुँडाले टेकी घाँटीमा दोपट्टाले बाँधेर पङ्खामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन । अफसरुलाको मृत्यु प्रकरण बाहिरेसंगै उनको आत्म हत्या नभई हत्या भएको माइती पक्षले दाबी गरेको छ ।नयाँ सरोकारसंग कुरा गर्दै अफसरुलाका बुवा मोहम्मद वहाब खाँले छोरीको आत्म हत्या नभई हत्या भएको बताए ।दाईजो नल्याएको भन्दै अफसरुलाका श्रीमान् मोहम्मद मेराज शेष र उनका घरपरिवारले छोरीलाई शारिरीक र मानसिक यातना दिएर हत्या गरेको उनको भनाई छ । मेराज शेष र अफसरुला खाँको २०७८ फाल्गुन २३ गते धार्मिक परम्परा अनुसार बिहे भएको थियो । उनिहरुको ९ महिनाको छोरा गुल्फाम रजा समेत रहेका छन् ।घटना हुनु अघि राती फोन गरेर छोरीले आफ्नो ज्यान खतरामा भएको जानकारी गराएको उनका बुवाले भने । राती १० को समयमा मलाई छोरीले फोन गरेर आफू घरपरिवारबाटै असुरक्षित भएको जानकारी गराईन, अफसरुलाक बुवाले भने;’त्यस पछि कुरा गर्दा गर्दै ‘व्यालेन्स’सकियो अरु कुरै हुन पाएन,बिहान बुझन खोज्दा हत्या भइसकेको रहेछ ।’घटनाको बारेमा प्रहरीले तत्कालै मुचुल्का तयार पारे पनि निर्वाचनको कारण देखाउदै अनुसन्धान अघि बढाउन अस्विकार गर्दै आएको माइती पक्षले जनाएको छ । अफसरुलाका माइती पक्ष र महिला अधिकारकर्मीको चर्को दवाब पछि मंलगबार मात्रै प्रहरीले घटनाको विषयमा अनुसन्धान गरी घटनामा संलग्न भनिएका अफसरुलाका श्रीमान र जेठाजुलाई बयानका लागी बुधबार जिल्ला अदालत बाँकेमा पेस गरेको छ ।प्रहरीले घटनाको ‘मिसिल’तयार पारी थुन छेक बहसका लागी अदालतमा पठाइसकेको बाँके जिल्ला प्रहरी कार्यालका प्रहरी प्रमुख श्याम कृष्ण अधिकारीले बताए ।घटनाको विषयमा अदालतले पूर्ण रुपमा फैसला नगर्दासम्म दुवै दाजुभाइलाई अहिले प्रहरी कारागारमा राखिएको छ ।घटना लुकाउन प्रहरी नै लागी परेको भन्ने कुरा निराधार भएको प्रहरी प्रमुख अधिकारीले बताए । घटनामा संलग्न जोसुकै भएपनि त्यसलाई कानुनी कठघरामा ल्याउने भन्दै उनले भने;पीडित पक्षले न्याय पाउने विषयमा शंका नगर्नुहोस ।’यसै बीच अफसरुलाका माइती पक्ष र महिला अधिकारकर्मीले प्रहरीले घटनालाई तोडमोड गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रदर्शन गरेका छन् । घटनामा संलग्न दोषीलाई सामान्य तारिखमा छोड्ने अभिप्रायले प्रहरीले अनुसन्धान गरेको भन्दै उनिहरुले प्रदर्शन गरेका हुन ।उनिहरुलाई अहिले कारागार चलान गरिए पनि सामान्य तारिखमा छोड्ने भित्री गृहकार्य भईरहेकाले आन्दोलन गर्नु परेको महिला अफसरुलाका बुवाले वताए ।दोषीलाई कुनै पनि वहानामा छोडे त्यसका विरुद्धमा कडा संघर्षमा जाने महिला अधिकारीकर्मी बिन्दू चर्ती मगरले भनिन् । पीडितलाई न्याय नदिने र घटनालाई गोप्यमै मिलाउने कसरत भएपछि आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको अर्की महिला अधिकारकर्मी मन्दीरा पाण्डेले वताइन ।घटनाको प्रकृत्ति हेर्दा अफसरुलाको हत्या भएको दाबी गर्दै उनले पीडितलाई न्याय दिलाउने बिषयमा आफूहरु जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिइन ।