दाङ। नेकपा एमाले पोलिटब्युरो सदस्य पार्वत गुरुङले अबको राष्ट्रपति पनि एमालेबाट उम्मेदवारी दिने व्यक्ति नै हुने दाबी गरेका छन् ।आइतबार प्रेस चौतारीले दाङको लमहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा गुरुङले सत्तारुढ दलहको सहमति अनुसार नै एमालेले राष्ट्रपति पाउने बताए ।
सत्तारुढ दलहरुको सहमति अनुसार नै एमालेबाट उम्मेदवार दिने व्यक्ति नै राष्ट्रपति बन्छ,उनले भने,त्यस बाहेक अर्को पार्टी वा दलबाट राष्ट्रपति बन्ने कुरै हुदैन । पूर्व सञ्चारी मन्त्री समेत रहेका गुरुङले राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने बिषयमा पार्टीभित्र घनिभूत छलफल भइरहेको बताए । बाहिर नेपाली कांग्रेसले जे जस्तो हल्ला चलाए पनि एमालेबाटै राष्ट्रपति बन्ने निश्चित भइसकेको छ,उनले भने,कसलाई बनाउने भन्ने बारेमा मात्रै टुङो लगाउन बाँकी छ।’
एकअर्को प्रसङ्गमा नेता गुरुङले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर नेपाली कांग्रेस पनि सत्ता पक्षकै भएको टिप्पणी गरे । उनले संसद अहिले प्रतिपक्ष विहिन भएको समेत बताए । जसरी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दियो,त्यसै दिन देखि नै संसद प्रतिपक्ष विहिन हुन पुग्यो, उनले भने,यो देश र जनताका लागी राम्रो संकेत हाईन।’
अहिलेको सत्ता गठबन्धन भत्काउन नेपाली कांग्रेसले अनेकौ तिकडमबाजी गरिरहेको बताउदै उनले त्यो सम्भव नभएको बताए ।कांग्रेसले मुलुकलाई गलत दिशातर्फ ढकेल्ने प्रयत्न गरिरहेको आरोप लगाउदै उनले त्यसले स्वयंम कांग्रेसलाई नै घाटा हुन बताए ।