१२ चैत २०७९ आइतबार
दाङ—तुलसीपुर ११ उरहरीमा रहेको अमर माध्यमिक विद्यालयमा ६५ दिने कुखुरा तथा बाख्रापालन तालिम सुरु भएको छ ।
विद्यालयको आयोजना एंव सीटीईभिटीको कार्यालय बुटवलको आर्थिक सहयोगमा आइतबारदेखि तालिम सुरु गरिएको हो ।नागरीकहरुलाई आयआर्जनको माध्यमबाट आत्मनिर्भर बनाउने उद्धेश्यले तालिम सञ्चालन गरिएको हो ।
तालिमको उद्घाटन तुलसीपुर उपमहानगरपालिका वडा नं.११ का वडाध्यक्ष मानबहादुर रावतले गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रावतले तालिमले पशु व्यवसायलाई प्रवर्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
उनले जिवनोपयोगी सीपले मानिसलाई जीवन निर्वाहमा सहज गर्ने वताउदै सीपको सदूपयोग गर्न सहभागीहरुलाई आग्रह गरे ।वडाध्यक्ष रावतले तालिम पश्चात पशु व्यवसायमा लाग्न चाहनेहरुलाई वडा सरकारबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
वडाबासीलाई आर्थिक रुपमा सबल बनाउन आगामी बजेटबाट पैचो कार्यक्रम समेत सञ्चालनमा ल्याउन लागिएको उनले बताए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेतको अध्यक्षता भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत मनबहादुर खड्का,विद्यालयका प्रधानाध्यापक पदमबहादुर वली,विद्यालय व्यवस्थापन समितिका सदस्यहरु अर्जुन बस्नेत,हरी प्रसाद बुढाथोकी,प्रशिक्षक डाक्टर आस्था अधिकारी लगायतले मनतव्य राखेका थिए ।
कार्यक्रमको सहजिकरण विद्यालयका कर्मचारी बसन्त परियारले गरेका थिए।२०७९ जेठ १४ गतेसम्म सञ्चालन हुने तालिममा ४० जनाको सहभागीता रहेको छ ।