अरुणकुमार नेपाली
१२माघ बिहीबार
दाङ—लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यले अर्थतन्त्रको उत्थानमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।बिहीबार छैठौ देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सवको लमहीमा उद्घाटन गर्दै मन्त्री आचार्यले निजी क्षेत्रको सवलीकरण बिना मुलुकको अर्थतन्त्र मजबुत नहुने बताएका हुन । उनले २०७२ को महाभूकम्प र कोरोनाले थलिएको व्यवसायिक क्षेत्र राम्रोसंग तङरिन नसक्दा देशको अर्थतन्त्र तरल अवस्थाबाट अघि बढेको बताए ।व्यवसायिक क्षेत्रमा आएको ह्रासले नै अहिले देशको अर्थतन्त्र सुधारमा चुनौति थपिएको उनले बताए ।
‘पछिल्लो समय सोचेअनुसार व्यवसायिक गतिबिधि चलायामान नहुँदा देशको अर्थतन्त्रमा चुनौति थपिएको छ,मन्त्री आचार्यले भने मुलुकको बिग्रदो अर्थतन्त्रलाई सहि ‘ट्रयाक’मा ल्याउन सरकारले अथक प्रयास गरिरहेको छ,’यस कार्यमा सरकारलाई सबैले सहयोग गर्न आवश्यक छ।’
सरकारको निरन्तर प्रयासले अहिले अर्थतन्त्रको आर्थिक सूचकहरु सुधारोन्मुख भए पनि अझै ढुक्क हुने स्थिति सिर्जना भई नसकेको मन्त्री आचार्यले बताए । उनले उद्योगी व्यवसायिलाई राज्यले प्रोत्साहन गर्न नसके मुलुकको आर्थिक समृद्धि हाँसिल गर्न नसकिने बताए । व्यसायसंग सम्बन्धित आर्थिक क्रियाकलापलाई चलायमान बनाउनका लागी आवश्यक कानुन निर्माण गरेर प्रदेश सरकार अघि बढ्न तयार रहेको उनले बताए । ‘उद्योग,व्यापारलाई प्रोत्साहन गर्न आवश्यक पर्ने कानुनको निर्माण र परिर्माजन गर्न प्रदेश सरकार तयार छ, मन्त्री आचार्यले भने अब ढुक्क रहनुहोस व्यवसायिका समस्या समाधान गर्न सरकार तयार छ ।’
मन्त्री आचार्यले प्रदेश राजधानी देउखुरी आएसंगै यस क्षेत्रको विकासले अब विस्तारै गति लिने बताए । लुम्बिनी प्रदेशलाई विकसित राजधानी बनाउने अभियानमा प्रदेश सरकार अघि बढिसकेकाले राजधानीको विकास र व्यवस्थापनमा सहयोग गर्न सबैलाई आग्रह समेत गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व सांसद रेवतीरमण शर्माले स्थानीय कृषि उत्पादनको बजारीकरण नहुँदासम्म आर्थिक समृद्धिको परिकल्पना गर्न नसकिने बताए । उनले तीनै तहका सरकारले घरेलु उद्योग र व्यवसायलाई प्रोत्साहन हुने गरी स्पष्ट नीति ल्याउनु पर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य जमशेर अलि मियाँले राज्यले स्पष्ट व्यवसायिक नीति नबनाउदा व्यसायिहरु मारमा परेको बताए । राज्यले व्यवसायिलाई प्रोत्साहन गर्न नसक्दा कैयौ उद्योग व्यवसायिहरु पलायन हुने अवस्थामा पुगेको बताए ।
लमही नगरपालिकाका पूर्व प्रमुख कुल बहादुर केसीले कृषि र पर्यटन आर्थिक विकासको मेरुदण्ड भएकाले तीनै तहका सरकारले यी क्षेत्रमा आवश्यक लगानी गर्नु पर्ने बताए । उनले स्थानीय स्तरका साना घरेलु उद्योगको पहिचान गरी तिनीहरुलाई प्रोत्साहन गर्न सकेमा मात्र आर्थिक रुपान्तरणमा टेवा पुग्ने बताए ।त्यस्तै लमही नगरपालिकाका प्रमखु जोगराज चौधरीले स्थानीय कृषि प्रबद्र्धन र पर्यटनको विकासमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए ।