कात्तिक २७,२०८१
दाङ।कानुनी प्रक्रिया मिचेर रुख काटेको आरोपमा दाङको राजपुर गाउँपालिका वडा नं.७ का वडाध्यक्ष पुस्कर वली पक्राउ परेका छन्। वडाध्यक्ष वली सहित ६ जनालाई डिभिजन वन कार्यालय दाङ (देउखुरीले) पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
वडाध्यक्ष वलीसहित उनका दाई घन बहादुर वली, घन बहादुरका छोरा तिलक वली, पदमबहादुर खड्का, भुपलाल बोटे र बालाराम कुमाललाई पक्राउ गरिएको हो ।उनीहरु माथि थप अनुसन्धान अघि बढाईएको छ। करिब २ बर्षअघि वडाध्यक्ष वलीको मिलोमतोमा कानुनी प्रक्रिया विपरीत सामुदायिक वनका रुख काटेको भन्ने उजुरी अख्यिारमा परेको थियो ।सोही उजुरीका आधारमा अख्तियारले सत्य तथ्य छानबिन गरी पठाउन डिभिजन वन कार्यालय दाङ (देउखुरी)लाई भनेपछि वन डिभिजनले अनुसन्धान थालेको थियो।
कार्यालयका वन अधिकृत छोटेलाल चौधरीलाई अनुसन्धान अधिकृत तोकेर घटनाको छानबिन थालेको थियो। अनुसन्धानका क्रममा त्यस सामुदायिक वनमा ७४ वटा विभिन्न प्रजातिका रुखहरू काटिएको प्रमाण भेटियो र उक्त कटान भएका काठको परिमाण करिब ३ सय क्युफिट हुन् आउने अनुसन्धान अधिकृत चौधरीको बताए। त्यसमा वडाध्यक्ष सहितको संलग्नता भेटिएको चौधरीले बताए। सिक्टा गाउँदेखि भित्री सिक्टासम्म विद्युत तार विस्तार गर्दा राप्ती किनार सामुदायिक वनमा तारमुनि परेका साल, ढौंटी, खयर प्रजातिका करिब ७४ वटा स—साना (बल्लाबल्ली साइजका) रुखहरू काटेको उनीहरूलाई आरोप लागेको छ।
यस अघि रुख कटानमा संलग्न तीन जनालाई बयानका लागि जिल्ला अदालतमा उपस्थित गराएको र वडाध्यक्ष वली सहित तीन जनालाई बयानका लागि अदालतमा बोलाउँदा आलटाल गरेकोले पक्राउ गर्नु परेको अनुसन्धान अधिकृत चौधरीले बताए।वडाध्यक्ष वली अहिले डिभिजन वन कार्यालयको नियन्त्रणमा रहेका छन ।उनलाई जिल्ला अदालतमा पेस गरिने तयारी गरिएको छ।