माघ ११,२०८१ शनिबार
दाङ।पूर्वप्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा कसैसंग गठबन्धन र तालमेल नगर्ने बताउनु भएको छ।दाङको घोराहीमा शनिबार प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादी केन्द्र आगामी निर्वाचन आफ्नै खुट्टामा उभिएर लड्ने बताउनु भएको हो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो,‘भर्खरै हाम्रो पार्टीको केन्द्रिय कमिटीको बैठकबाट सर्वसम्मत रुपमा हामीले आफ्नै खुट्टामा उभिएर निर्वाचन लड्ने निर्णय गरेका छौ।माओवादी आफै जनक्रान्तिको प्रतिक पनि हो।यो परिवर्तनको प्रमुख वहाक पनि हो।माओवादी आफ्नै खुट्टामा उभिनै सक्दैन भन्ने जे भाष्य बनाउन खोजियो छ। हामीले त्यसको र विगतको गल्ती कमजोरीहरुलाई समीक्षा गरेर आगामी निर्वाचन एक्लै लड्ने भनेका छौ।’
अध्यक्ष प्रचण्डले वामपन्थी(कम्प्युनिष्ट)हरु एक ठाउँमा उभिनु पर्छ भन्ने आवश्यकता महशुस गरी आफूले विगतमा जोखिमै उठाएर प्रयास गरे पनि सफल हुन नसकेको स्वीकार गर्नु भयो।
२०७४ मा पहिला मोर्चाबाट चुनाव लडियो,पछि एमालेसंग मिलेर पार्टी एउटै बनाइयो।त्यसको प्रस्तावक म नै थिए अध्यक्ष प्रचण्डले भन्नुभयो,‘बिडम्वना तर त्यो टिकेन।एकिकरणका लागि भनेर दोस्रो पटक पनि जोखिम उठाए त्यो पनि टिकेन।त्यसकारण इनफ इज इनफ।’
अध्यक्ष प्रचण्डले २०८४ मा नेकपा एमालेसंग सहकार्य गरेर चुनाव लड्ने कुनै सम्भावना नरहेको समेत बताउनु भयो।उहाँले माओवादी पार्टी वैशाखी टेक्ने पार्टी नभएको बताउदै अबको निर्वाचन आफ्नै बलमा लड्ने बताउनु भयो।
देशलाई सुशासन,स्थिरता र विकास दिनका लागि नेपाली जनताले माओवादी केन्द्रलाई पुनः२०६४ को जस्तै बहुमत दिनु पर्ने उहाँको भनाई थियो ।
अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले माओवादीको अहिले सरकारमा जाने रुची नभएको बताउनु भयो।‘माओवादी फेरी एमाले वा कांग्रेससंग मिलेर सरकारमा जान्छ कि?भन्ने जुन आशंका गरिएको छ।त्यो विल्कुल सत्य होइन।तत्काल सरकारमा जाने कुराले माओवादी पार्टी प्रति जनताको जुन आशा पलाएको छ।त्यो फेरी बिग्रेला कि भन्ने डर हामीलाई छ।त्यसकारण हामी सरकार गिराउने खेलमा पनि लाग्दैनौ।सरकारमा पनि जादैनौ उहाँले भन्नुभयो।’
अध्यक्ष प्रण्डले अहिलेको कांग्रेस—एमाले गठबन्धनको सरकार आफ्नै भारले थिचिएर ढल्ने बताउनु भयो।सरकारको काम प्रति स्वंयम सत्ताधारी दलका नेताहरु समेत असन्तुष्ट भएको बताउदै अध्यक्ष प्रण्चण्डले माओवादीले नभई आफ्नै कारणले सरकार ढल्ने बताए ।प्रेस सेन्टर दाङका अध्यक्ष जनक नेपालीको अध्यक्षतामा सम्पन्न भएको पत्रकार भेटघाट कार्यक्रममा कोषाध्यक्ष जीवन नेपालीले स्वागत मनतव्य राख्नु भएको थियो भने सहजिकरण सचिव दीपक बोहोराले गर्नु भएको थियो।