१८असार २०८० सोमबार
दाङ— आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरुपूर्णिमा । आफुलाई शिक्षा र ज्ञान दिने गुरुको सम्मान गरी सोमबार गुरुपूर्णिमा मनाइँदैछ ।मनुस्मृतिका अनुसार जन्म दिने, संस्कार गर्ने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ ।
आफू आचरणमा बसेर अरुलाई आचरणमा राख्न सक्नेलाई स्मृतिमा गुरु भनिएको हो । ’गु’ को अर्थ अन्धकार र ’रु’ को अर्थ उज्यालो भन्ने बुझिन्छ । अध्याँरोबाट उज्यालो तर्फ लग्ने पात्रलाई नै सम्मानपूर्वक गुरु भनिएको सनातन धर्मको मान्यता छ ।
आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ ।
धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई भनिएको छ । व्रतबन्ध संस्कारका बेला गायत्री मन्त्र दिने र वेदादि शास्त्र पढाउनेलाई गुरु भनिन्छ । सनातन मान्यता अनुसार आमाबुबा र गुरुलाई देवता मानिएको छ ।
गुरुलाई माता र पितापछिको स्थान दिइएको छ । ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिता भन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन धर्मको मान्यता छ। गुरुलाई यसरी सम्मान गरिन्छ ।।
गुरु ब्रम्हा गुरुर्विष्णु गुरुर्देवो महेश्वरस् ।
गुरुःसाक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः ।।
अर्थात् गुरु ब्रह्मा, विष्णु र महेश्वर हुनुहुन्छ ।
यस्ता साक्षात् पर ब्रह्म गुरुलाई नमस्कार छ ।।