१५ श्रावण २०८० सोमबार
बुटवल:- आफूसंग अनावश्यक विवाद गरेको भन्दै बुटवलका एक वडाध्यक्षले स्वास्थ्य स्वयम सेविकालाई जागिरबाट निकालेका छन् ।बुटवल उपमहानगरपालिका–१ मा रहेको शहरी स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्य स्वयम् सेविका सिता नापीतलाई वडाध्यक्ष नरेन्द्र बस्नेतले विवाद गरेको भन्दै जागिरबाट निकालेका हुन।नापीत विगत २० वर्षदेखि स्वास्थ्य केन्द्रमा स्वयम सेविकाको रुपमा काम गर्दै आइरहेकी थिइन ।
वडा अध्यक्ष नरेन्द्र बस्नेतले आफू जनप्रतिनिधि भएपछि पटक–पटक विभिन्न विषयमा नापीतसँग भनाभन तथा हातपात समेत हुने गरेको उल्लेख गरे । यसैगरी पछिल्लो समय वडा अध्यक्ष बस्नेत विरुद्धको मुद्दामा स्वयम सेविका नापीत साक्षी बसेपछि विवाद झनै चुलिएको थियो । स्थानीय जमुना पुनले आफू विरुद्ध घरबाट निकाला गरेको लगायतका आरोप लगाउँदै जिल्ला अदालत रुपन्देहीमा वडाध्यक्ष विरुद्ध मुद्दा दिएकी थिइन।
सो मुद्धाको साक्षिको रुपमा स्वयम् सेविका नापीतले समेत हस्ताक्षर गरेको वडा अध्यक्ष बस्नेतले बताए । यसरी पटक–पटक विवाद गरेर आचार संहिता विपरित काम गरेको भन्दै अध्यक्ष बस्नेतले स्वास्थ्य स्वयम् सेविका नापितलाई जागिरबाट निकालेको उल्लेख गरे । विभिन्न समयमा आफूहरु बीच हुने व्यक्तिगत विवाद र रिसिबीलाई साध्न वडा अध्यक्ष बस्नेतले महिला स्वयम् सेवीको जागिर नै चट पारिदिएका हुन् ।
वडाध्यक्ष बस्नेतले व्यक्तिगत रिस साध्नका लागि आफूलाई विभिन्न आरोप लगाउँदै सेवाबाट निश्कासन गरेको नापितले गुनासो गरिन् । आफूलाई निस्कासन गर्नका लागि कृते रुपमा स्वास्थ्य महिला समूह निर्माण गरी वडा अध्यक्ष बस्नेतले निर्णय गराएको समेत उनले आरोप लगाइन् ।
स्वास्थ्य केन्द्रको सेवा क्षेत्रमा पर्ने जितगढी स्वास्थ्य महिला समूहमा १ वर्षअघि चुनिएका अध्यक्ष माया भण्डारीलाई नै जानकारी नदिई वडा अध्यक्ष बस्नेतले सोही टोलकी अध्यक्ष लक्ष्मी पन्तलाई स्वास्थ्य आमा समूहको अध्यक्ष बनाएर नापितलाई निस्कासन गर्ने निर्णय गराएका छन् ।
२०८० साउन ५ गते कृते रुपमा खडा गरिएको समितिकी अध्यक्ष लक्ष्मी पन्तको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य स्वयम्सेवी नापितलाई बुटवल उपमहानगर स्वास्थ्य महाशाखाको सिफारिस अनुसार निस्कासन गर्ने व्यहोरासहितको निर्णय गरेको छ । यसरी आफ्नो कार्यकाल पूरा नहुँदै आफूलाई नै जानकारी नदिई कृते अध्यक्ष खडा गरिएको भन्दै स्वास्थ्य आमा समूहकी अध्यक्ष माया भण्डारीले प्रश्न उठाएकी छन् । वडा अध्यक्ष बस्नेतले भने आफू निर्वाचित भएको एक वर्षसम्म पनि उक्त समिति बारे आफूलाई जानकारी नभएका कारण नयाँ समिति गठन गरिएको दाबी गरेका छन् । वडा अध्यक्ष बस्नेतले स्थापना गरिएको स्वास्थ्य आमा समूहमा रहेकी पन्त जितगढी टोल बिकास संस्थामा समेत अध्यक्ष पदमा रहेकी छन् ।
वडा अध्यक्ष बस्नेतले निस्काशन गरिएकी स्वास्थ्य स्वयमसेवी नापितलाई विभिन्न ३ आरोप लगाएका छन् । पहिलो आरोप आफू विरुद्ध विवाद हो भने दोस्रो आरोप खोप कार्यक्रम सम्बन्धी र तेस्रो आरोप सामाजिक सञ्जालमा भ्रामक स्वास्थ्य सन्देश जाने सेल्फी तस्विर सार्वजनिक गर्नु रहेको छ ।
उपमहानगरका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयले वडा कार्यालयबाट निर्णय गरी आएपछि सोही आधारमा नापितलाई निस्कासन गर्न सिफारिस गरिएको बताए । यसैगरी सम्बन्धित स्वास्थ्य केन्द्रका इन्चार्ज सन्तोष गुरुङले वडाको निर्णय तथा उपमहानगरको स्वास्थ्य महाशाखाबाट आएको सिफारिस अनुसार निर्णय कार्यान्वयन गरिएको उल्लेख गरे ।नापितलाई निस्कासन गर्नका लागि बुटवल उपमहानगर स्वास्थ्य महाशाख प्रमुख मित्रमणी खनालले सिफारिस गरेका थिए ।