२५ भदौ २०८० सोमबार
नेपालगञ्जः—भदौ २७ गतेदेखि ललितपुरमा सुरु हुने ११ औ कोरियन एम्बेसडर खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बाँकेबाट सहभागी हुने खेलाडीहरुलाई एक कार्यक्रमका बीच बिदाई गरिएको छ।
भारत र बङ्गलादेशका एक हजार सात सय अठहत्तर खेलाडी सहभागी हुने उक्त प्रतियोगितामा बाँकेबाट पुरुष र महिला गरी २७ जना खेलाडीहरु सहभागी हुनेछन । सबै खेलाडीलाई बाँके जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछानेले सोमबार बिदाई गरेका हुन ।जिल्लामा खेल प्रशिक्षणका लागि उपयुक्त सामाग्री र अन्य भौतिक पूर्वाधारहरुको कमी भए पनि खेलाडीहरुले आफ्नै तरिकारले तयारी गरेको अध्यक्ष लामिछानेले बताए ।
खेलाडीको नेतृतव गर्दै बाँके जिल्ला कोचको रुपमा तेक्वान्दो डोजाङ्गका सिनियर महेश थापा,श्याम भट्टराई,बाँके जिल्ला राष्ट्रिय रेफ्री रामरती थारु,समेत खेलाडीहरुसंग काठमाण्डौ प्रस्थान गरेका छन । प्रतियोगिता भदौ २७ गतेदेखि ३१ गतेसम्म सातदोबाटो,ललितपुरमा सञ्चालन हुनेछ । बिदाई कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य मोहन वली लगायत जिल्ला संघका पदाधिकारीहरुले शुभकामना मनतव्य राखेका थिए ।