१५ मंसिर २०८१,शनिबार
नयाँ सरोकार ।विश्वभरि एचआईभीका कारण हुने नयाँ सङ्क्रमण र मृत्यु उल्लेखनीय सङ्ख्यामा घटेको छ।तर एचआईभी र एड्ससम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यक्रम यूएनएड्सले हाम्रो संसार एड्सलाई सार्वजनिक खतराबाट हटाउने बाटोमा नपुगेको चेतावनी दिएको छ।
यूएनएड्सका अनुसार अहिले विश्वमा ३.९९ करोड मानिसलाई एड्स भएको छ। तीमध्ये आधाजति दक्षिणी र पूर्वी अफ्रिकामा छन्।सन् २०१० यता एचआईभीको नयाँ सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या ३९ प्रतिशतले घटेको छ भने एड्सबाट ज्यान जाने मानिसको सङ्ख्या आधाले घटेको बिबिसीले जनाएको छ ।
यद्यपि अफगानिस्तान, इजिप्ट,फिजी, फिलिपिन्स, पपुआ न्यूगिनी र साउदी अरबमा भने सन् २०१० देखि २०२३ को बीचमा एचआईभी सङ्क्रमणमा १०० प्रतिशतले वृद्धि भएको देखिएको छ।
सन् २०१० यता एचआईभी सङ्क्रमण ७५ प्रतिशतले घटाउने देशहरूमध्ये नेपाल पनि छ। नेपालका अतिरिक्त यो स्तरको सफलता हासिल गर्ने देशहरूमा केन्या, मलावी र जिम्बावे रहेको बिबिसीले उल्लेख गरेको छ ।थप १८ वटा देशहरूले सन् २०१० देखि यता वार्षिक एचआईभी सङ्क्रमणदर ६० प्रतिशतले न्यूनीकरण गरेका छन्।
त्यसमा धेरैजसो सब(सहारा राष्ट्रहरू छन्। लेसोथो, एस्वातिनी, बेनिन, इथिओपिया, रवान्डा, बोत्स्वाना, एरिट्रिया, लाइबेरिया, बुर्किना फासो, तोगो, जाम्बिया, बुरुन्डी, गुएना(बिसाउ र युगान्डा त्यसमध्येका देशहरू हुन्।त्यस्तै ताजकिस्तान, पोर्चुगल, बेलारुस र इटलीले पनि वार्षिक एचआईभी सङ्क्रमणदर ६० प्रतिशतले घटाएका छन्।एचआईभी सङ्क्रमण भएर बाँचिरहेकामध्ये ७७ प्रतिशतले वैकल्पिक थेरापीको उपचार लिइरहेका छन्।सब—सहारा अफ्रिकामा ८२ प्रतिशतले यो विधिको उपचार लिइरहेका छन्।
पछिल्लो १३ वर्षमा औसत आयु पनि पाँच वर्षले बढेको छ। सन् २०१० मा ५६ वर्ष रहेको औसत आयु सन् २०२३ मा ६१ वर्ष पुगेको छ। जसको एउटा कारण एचआईभीविरुद्ध लड्ने पद्धतिमा भएका प्रगति पनि हुन्।
यूएनएड्सले अफ्रिकामा भइरहेको उपचारको व्यापकताले मानिसहरूलाई एचआईभीको भाइरसलाई दबाउन र सङ्क्रमणको जोखिम कम गर्न सहयोग पुगेको जनाएको छ।
धेरै देशहरूमा व्यापक रहेको समलिङ्गी यौन सम्पर्क र लागुऔषधको प्रयोगलाई फौजदारी कसुर बनाउने कानुनले पनि मानिसहरूलाई रोकथामका सेवामा पहुँच पाउनबाट बाधा पुर्याएको छ।