फागुन ११,२०७९ बिहीबार
कास्की— जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा रहेका विभिन्न बैंकका एटीएम मेसिन फुटाउन खोज्ने दुईजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार उदयपुरको गाईघाट नगरपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–१७ छोरेपाटनमा बस्दै आएका २१ वर्षीय सुशील चाम्लिङ राई र लमजुङको मर्स्याङ्दी गाउँपालिका–४घर भई हाल छोरेपाटनमा नै बस्दै २१ वर्षीय अर्जुन भन्ने लु बहादुर गुरुङ पक्राउ परेका हुन्।
उनीहरूले गत मंगलबार राति करिब १२ बजे पोखरा महानगरपालिका–१० रामबजारमा रहेको एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउन खोजेका थिए। त्यसै दिन राति करिब साढे १ बजे उनीहरूले वडा नम्बर १५ स्थित वन क्याम्पस गेट नजिकै रहेको नेपाल बैंकको एटीएम मेसिन मेसिन पनि फुटाउने प्रयास गरेका थिए।
बिहान ४ बजे १५ रामबजारको पेन्सन क्याम्प नजिकै रहेको साङ्ग्रिला डेभलपमेन्ट बैंकको एटीएम मेसिन पनि फुटाउने प्रयास गर्ने पनि उनीहरू नै रहेको प्रहरीले जनाएको छ। मसिन फुटाउन सीसीटिभी क्यामेरामा कागजले ढाक्ने गरेको पाइएको पनि कास्की प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत चोरी उद्योग मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी निरीक्षक खड्काले बताए।