११ मंसिर २०८१,मंगलबार
दाङ ।नेकपा (एमाले) को बाँके जिल्ला कमिटीले लुम्बिनीका प्रदेश सभा सदस्य दुर्गा चौधरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ।सांसद चौधरीले अध्यक्ष केपी शर्मा ओली,महासचिव शंकर पोखरेलको मानहानि गरेकोले निलम्बन गरेको उक्त पार्टीले जनाएको छ।
सांसद चौधरीलाई एमाले बाँकेले मंगलबार पार्टी सदस्यबाट निलम्बन गरी प्रदेश र केन्द्रीय कमिटीलाई बोधार्थ दिएको छ।चौधरीले पार्टीको मूल्यमान्यता विपरीत केन्द्रिय अध्यक्ष र महासचिवलाई लगायत पार्टीका अन्य कार्यकर्तालाई सार्वजनिक रुपमा गालीगौलज तथा सामाजिक सञ्जालमा पार्टीका विरुद्धमा कुप्रचार गर्ने गरेकाले निलम्बन गर्नु परेको बाँके जिल्ला अध्यक्ष निरक गुरुङले बताए।सांसद चौधरीले पार्टीका विरुद्धमा गरेका क्रियाकलापको विषयमा स्पष्टिकरण सोधिएकोमा चित्तबुझदो जवाफ नदिएकाले पनि उनि माथि कारबाही चलाईएको अध्यक्ष गुरुङले बताए ।
उनी २०७९ मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर १ को २ बाट निर्वाचित भएका थिए। चौधरी यसअघि एमाले लुम्बिनी प्रदेश कमिटीका उपसचिव पनि थिए।
एमाले बाँकेले २०८१ कात्तिक ५ गतेका दिन पार्टीलाई हानीनोक्सानी पुर्याउने मनसायका साथ पार्टीका केन्द्रीय अध्यक्ष, महासचिव समेतको मानहानि हुने गरी पार्टीका मूल्य, मान्यताविपरीत सार्वजनिक रूपमा गालीगलौज गर्ने, समाजिक सञ्जालमा, पार्टीका नेता, कार्यकर्तालाई खुइल्याउने पार्टीका विरुद्धमा समाचार लेख्ने जस्ता गतिविधि निरन्तर गर्नुभएका कारण तपाईंलाई विधानको धारा ८ को (३) र (४) बमोजिम स्पष्टीकरण सोध्ने काम भयो। स्पष्टीकरणको जबाफ दिने सन्दर्भमा आफ्ना कमीकमजोरी प्रति महसुसीकरण गर्नुको साटो उल्टै पार्टी नेता, कार्यकर्ता र समग्र पार्टीका विरूद्धमा लिखित जबाफ दिनुभएको हुँदा तपाईंलाई पार्टी विधानको धारा ८१ (७) को अनुशासनको कारबाहीको व्यवस्था अनुरूप पार्टी सदस्यताबाट निलम्बन गरिएको जानकारी गराउँछु,’ गुरूङले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
पार्टीको नीति विपरीत गतिविधि गरेको भन्दै उनलाई प्रदेश कमिटीबाट पनि हटाइएको थियो। पछिल्लो समय उनले मंसिर ७ मा एमालेले काठमाडौंमा गरेको जागरण सभाको विरूद्धमा फेसबुक लगायत सामाजिक सञ्जालमा विरोध गरेका थिए।