१७ श्रावण २०८०, बुधबार
ललितपुर:- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले संसद बैठक चल्न नदिएको आरोप लगाएका छन् ।
तुलसीलाल अमात्य स्मृति दिवसको अवसर पारेर बुधबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गृहमन्त्रीलाई मात्रै बोल्न दिने, नभए संसद बैठकलाई संचालन नगर्ने सरकारको हर्कतका कारण संसद बैठक सूचना टाँस गर्दै स्थगित भइरहेको दाबी गरे ।
पछिल्लो सुन तस्करी प्रकरणबारे सांसदहरुलाई बोल्न नदिन सरकारले सभामुखलाई दबाब दिएर संसद बैठक सूचना टाँस गरेर स्थगित गर्न बाध्य बनाएको ओलीको जिकिर थियो ।
उनले गृहमन्त्रीलाई मात्रै बोल्न दिए हुने सहमति गरेर पनि केपी ओलीले सो सहमति बालुवाटारबाट बाहिरिएपछि लत्याएको भनेर प्रचार गरेको सुन्दा आफूलाई अचम्म लागेको समेत बताए । अध्यक्ष ओलीले सरकार आफै संलग्न भएकाले सो सुन तस्करी प्रकरणमा आफूहरुले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको पनि पटकपटक दोहोर्याए ।
उनले भने, ‘हामी बाहेक अब अरुले देश चलाउनै सक्दैन । सकेन । १० टाउँके हुँदा पनि चलाउन सकेनन नि । त्यत्रो कोभिड हुँदा पनि हामीले देशलाई तहसनहस हुन दिएनौं । छानबिन समिति बनाउन किन मान्दैन सरकार । हामी छानबिन समिति बनाउँदैछौं, छानबिन गर्दै हुनुहुन्छ । तर उहाँहरु आफैँ मुछिनु भएको छ । त्यो सिगरेट के जातिमा ल्याएको साँढे नौं किलो सुन जफत गरेर राखिएको थियो । सुन्छु अहिले–त्यो गोदामबाटै हरायो रे । चोरी भयो । अब भन्सार किन राख्या त्यहाँ भन्या । खाली जनतालाई दुःख दिन राख्या ? त्यसो भएर त्यो साँढे नौ किलो सुन सुन्दैछु –चोरी भयो रे । नक्कली बजारको इलेक्ट्रिक चुरोट त्यो ल्याएर त्यस ठाउँमा राखिएको छ । केही पनि भेटिँदैन । किनभने सक्कली चोरी भयो, नक्कली त्यहाँ राखिएको छ । अव प्रधानमन्त्रीजी भन्नु हुन्छ– म छानबिन गरिराखेको छु, गर्न दिनुस् न । हामीलाई छानबिन गर्न किन नदिने ? गर्नुस् न तपाईहरु छानबिन । तर तपाईहरुको छानबिन, तपाईहरुको सरकार सञ्चालन भरपर्दो भएन । बालुवाटारमा भएको सहमति अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आउँदा केपी ओलीले छोडिदियो भन्ने हल्ला चलाउँछन् । गृहमन्त्रीले भाषणा गरेपछि चलाउन दिन्छु भनेको थियो । गृहमन्त्रीको भाषण, त्यो पवित्र भाषण, त्यो मन्त्र, उनको त्यो कुरा सुनौं, त्यति भएपछि सुनसुन जेसुकै होस् । सदन चलाउनुस्, गरिखानुस् भनेर आएको थिँए म ? यस्ता कुरा गर्ने ? गृहमन्त्रीलाई भाषण गर्न दिनुस् । भाषण गराईदिएपछि हामी चित्त बुझाउँछौं, सदन चलाउँछौं भनेर भनेको थियो केपी ओलीले भन्छन् । अचम्म लाग्छ ।’
अध्यक्ष ओलीले साँढे नौ किलो सुन बरामद गरेर भन्सार गोदाममा राखिएपनि सो सुन चोरी भएको र नक्कली सुन त्यहाँ राखिएको आफूले सूचना पाएको समेत बताए । त्यस अवसरमा उनले वर्तमान सरकारले मुलुक चलाउनै नसक्ने बताएका थिए ।