
काठमाडौँ । नेकपा एमालेले २०८२ साल भदौमा विधान महाधिवेशन गर्ने मिति तोकेको छ । बालुवाटारमा मंगलबार बसेको सचिवालय बैठकले झन्डै ८ महिनापछि अर्थात् आगामी भदौ २० देखि २२ सम्म विधान महाधिवेशन सम्पन्न गर्नेगरी मिति निर्धारण गरेको हो ।
यसबिचमा एमालेले विधान महाधिवेशनको आन्तरिक तयारी गर्नुका साथै विभिन्न दस्ताबेजहरू तयार पार्ने सो पार्टीका नेताहरूले बताएका छन् । जसअन्तर्गत राजनीतिक, सांगठानिक र विधान संशोधनलगायतका प्रस्तावहरू तयार हुनेछन् । त्यसका लागि छुट्टाछुट्टै उपसमितिहरू निर्माण हुनेछन् ।
यसअघि २०७८ असोज १५ देखि १७ गतेसम्म सो पार्टीको विधान महाधिवेशन ललितपुरको गोदावरीमा सम्पन्न भएको थियो । सोही वर्षको मंसिरमा एमालेले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको थियो ।
नेकपा एमालेको विधानमा ७० बर्से उमेर हद कायमै छ । यद्यपि त्यो व्यवस्था हाललाई पार्टीले निलम्बन गरेको अवस्था मात्रै छ ।
एमालेको २०८० साल जेठ १९ गते बसेको सचिवालय बैठकले विधान सम्मेलनले पारित गरेको कार्यकारिणी कमिटीमा लाग्ने ७० बर्से उमेर हद निलम्बन गर्ने निर्णय गरेको थियो ।
एमालेको विधानको धारा ८९ मा सबै तहको कार्यकारी कमिटीको पदाधिकारी÷सदस्यमा निर्वाचित÷मनोनीत हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था उल्लेख छ ।
तर ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनीत भएको व्यक्तिले अर्को महाधिवेशन÷अधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनीत पदमा रही जिम्मेवारी बहन गर्न बाधा नपुग्ने प्रावधान छ । एमालेको ७० बर्से उमेर हदका कारण केही नेताहरू १० औँ महाधिवेशनबाटै बिदा भएका थिए । आगामी भदौ महिनामा हुने विधान महाधिवेशनले ७० बर्से उमेर हदको व्यवस्था वैधानिक रूपमै हटाउने निश्चित छ । किनभने त्यो व्यवस्था कायम गरे हालका अध्यक्ष केपी शर्मा ओली पुन अध्यक्ष बन्ने बाटो बन्द हुनेछ । ओलीले पुन अर्को कार्यकाल पनि आफै एमालेको नेतृत्व हाँक्ने चाहाना व्यक्त गरिरहेका छन् ।
‘७० बर्से उमेर हद अव हुने विधान महाधिवेशनमार्फत वैधानिक रूपमै हट्ने निश्चित छ । त्यो व्यवस्था नहटाए वर्तमान अध्यक्ष केपी ओली समेतका नेताहरू कार्यकारी पदमा बस्न पाउने छैनन्’, एमालेका एक शीर्ष नेता भन्छन्, ‘ओलीमात्र होइन अहिले पदाधिकारीमा रहेका अरू नेता पनि बाहिरिनुपर्ने हुन्छ त्यसकारण पनि त्यो व्यवस्था वैधानिक रूपमै हट्ने निश्चित छ ।’