९ बैशाख २०८०, शनिबार
कञ्चनपुर —कञ्चनपुरमा एक महिलालाई आक्रमण गरी बेपत्ता बनाउने बाघलाई नियन्त्रण गर्न विज्ञ सहितको टोली परिचालन गरिएको छ ।
बाघ नियन्त्रणका लागी बर्दिया राष्ट्रिय निकुञ्जबाट गएको विशेषज्ञ सहितको टोली परिचालन गरिएको हो ।बेलौरी नगरपालिका–८ पचुँइमा शुक्रबार बिहान ९ बजे खेतमा घाँस काटदै गरेकी स्थानीय अन्दाजी ४५ वर्षीया गंगादेवी चन्दलाई बाघले आक्रमण गरी बेपत्ता बनाएको थियो ।
बेपत्ता महिलालाई अहिलेसम्म फेला पार्न सकिएको छैन ।बाघलाई डार्ट (बेहोस) गर्न निकुञ्जका डा. दिनेश देवकोटा सहितको पाँच जनाको टोली परिचालन भएको छ । बर्दिया निकुञ्जको टोलीसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सब डिभिजन वन कार्यालय कुण्डाको वन सुरक्षाकर्मीको टोली बाघ नियन्त्रण गर्न परिचालन भएको छ । बाघ नियन्त्रण गर्न टोलीले शुक्रबार धेरै प्रयास गरे पनि फेला पार्न नसकिएको सव डिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश कुमार यादवले बताए ।
उनकाअनुसार जङ्गलमा अग्लो घाँस भएकोले बाघलाई नियन्त्रण गर्न गाह्रो भएको छ । दुई—दुई मिटरको दूरीमा घेरा हालेर बाघलाई नियन्त्रण गर्ने प्रयासमा आफूहरु लागेको यादवले बताए ।शुक्रबार बाघ नियन्त्रण गर्न नसकिएपछि आज पुनःटोली परिचालन गरिने भएको छ ।
बाघले महिलालाई आक्रमण गरी लगेपछि खोजीका लागि प्रहरी, सशस्त्र प्रहरी र स्थानिय बासिन्दाले खोजीको तीव्र बनाए पनि महिलालाई अझै पनि फेला पार्न सकेका छैनन् ।
भारतीय दुधुवा नेसनल पार्कबाट बाघ नेपाली बस्तीमा पसेको बताइएको छ । सीमा क्षेत्रमा दिउँसै ओहरोदोहर गर्दै आएको बाघले महिलालाई आक्रमण गरी बेपत्ता बनाए पछि यो क्षेत्रको जनजीवन त्रासमा छ ।