उत्तर अमेरिकी महादेशको अधिकांश भूभागमा फैलिएको उत्तरी आर्कटिक क्षेत्रबाट आएको चिसो सिरेटोका कारण कम्तीमा ३८ जनाको ज्यान गएको छ।
अमेरिकाभरिमा ३४ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। सबभन्दा प्रभावित न्यूयोर्कको बफेलो सहरमा हिउँले जनजीवन ठप्प बनेको छ।
क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तमा बरफ जमेको सडकमा बस चिप्लिँदा चारजनाको ज्यान गएको छ।
चिसो आँधीजस्तो अवस्थाले अभूतपूर्व रूपमा क्यानडादेखि लिएर दक्षिणमा रियो ग्रान्डेसम्म गाँजेको छ।
ठूलो सङ्ख्यामा मानिसहरू बिजुलीविना घरमै फसिरहेको हुनसक्ने बताइएको छ।
मानिसहरूको यात्रा पनि गम्भीर ढङ्गले प्रभावित भएका छन्। सयौँ उडानहरू रद्द गरिएका छन्।
ग्रेट लेक्स भनिने क्षेत्रमा ‘बम साइक्लोन’को अवस्था विकसित भइरहेको छ – त्यहाँ वातावरणीय चाप द्रुत गतिमा झरेर हिउँ आँधीको अवस्था निम्तिँदै गरेको बताइएको छ।