काठमाडौँ — सत्तारूढ कांग्रेसनिकट नेविसंघको तालाबन्दीका कारण त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयका पदाधिकारी, प्राध्यापक र कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् ।
नेविसंघले २०७७ देखि नै विश्वविद्यालयका विभिन्न निकायमा तालाबन्दी गर्दै आएको छ । पछिल्लो पटक २०७८ माघदेखि ५ महिनासम्म उपकुलपति कार्यालयमा लगाएको ताला खोलेको नेविसंघले विभिन्न माग अघि सार्दै रजिस्ट्रारको कार्यालयमा गत असार २७ मा तालाबन्दी गरेको थियो । गत भाद्र १२ मा अनेरास्ववियुका विद्यार्थीले ताला फुटाए पनि नेविसंघले तत्कालै लगाएको थियो । १३ गते तालाबन्दीले त्रिविको शैक्षिक गतिविधि प्रभावित भएको भन्दै प्रतिपक्षी एमालेका सांसदहरूले संसद् बैठक अवरुद्ध गर्ने चेतावनी दिएका थिए । सभामुख अग्निप्रसाद सापकोटाले सभाको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समस्या शीघ्र समाधान गर्न रुलिङ गरेका थिए ।
‘तालाबन्दी रहर होइन, त्रिविमा केन्द्रीय समितिले ताला लगाएको पनि होइन, त्यहीँका नेविसंघका साथीहरूले लगाएका हुन्,’ उनले थपे, ‘सबै संगठनले तालाबन्दी मुक्त शिक्षण संस्था घोषणा गरौं, हामी निर्णयमा हस्ताक्षर गछौं ।’ परीक्षामा हुबहु प्रश्नपत्र निकाल्ने दोषीलाई कारबाही र समयमा नै नतिजा आउने सुनिश्चित भए तालाबन्दी खोल्न तयार रहेको समेत उनले जनाए । नेविसंघले यिनै माग अघि सारेर तालाबन्दी गरेको हो । तर त्रिविले हुबहु प्रश्नपत्र निकालेको सम्बन्धमा गरेको छानबिन प्रतिवेदनसमेत गोप्य राखेको छ ।