माघ २१,२०७९ शनिबार
काठमाडौं — नेकपा (एकीकृत समाजवादी( पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसको घमण्ड र नेकपा माओवादी केन्द्रको सत्तालिप्सा तथा ढुलमुले चरित्रका कारण पुरानो गठबन्धन भत्किएको टिप्पणी गरेका छन्।
शनिबार सुरु पार्टी केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालको विश्लेषण छ (‘गठबन्धन टुट्नुमा निर्वाचनबाट ठूलो दल बनेपछि नेपाली काँग्रेसमा शक्तिको घमण्ड बढ्नु, काँग्रेससँग सही सूचना नहुनु र उसले गलत सूचनामा विश्वास गर्नु, केपी ओलील गठबन्धनलाई जसरी पनि तोडिछाड्ने उद्देश्य राखेर चालबाजीपूर्ण कदम चाल्नु र माओवादी केन्द्रको सत्ताकेन्द्रीत सोंच र आफुलाई लाभ हुने भएपछि विचार, नीति, सिद्धान्त, दृष्टिकोण र सहयात्री साथीहरू सबै त्यागेर हिँड्ने प्रवृत्ति ।’
निर्वाचनपछि वाम(लोकतान्त्रिक गठबन्धनकै सरकार बन्नु पर्नेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबैले आफु पहिले प्रधानमन्त्री बन्नुपर्ने अडान लिएकाले गठबन्धन टुटेको अध्यक्षको नेपालको भनाइ छ।
माओवादीप्रति टिप्पणी गर्दै उनले प्रतिवेदनमा लेखेका छन्, ‘यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध नै छ तर सत्तास्वार्थका निम्ति कुनै पनि बेला जुनसुकै कदम चाल्न सक्ने अस्थिर र ढुलमुले प्रवृत्ति यसमा देखिएको छ।’
अध्यक्ष नेपालले अहिलेको सत्ता गठबन्धनलाई वाम–दक्षिणपन्थी खिचडी गठबन्धनको संज्ञा दिएका छन्।उनले राष्ट्रिय राजनीतिक परिस्थितिको समीक्षा गर्दै गठबनधनको वैचारिक धरातल र राजनीतिक गन्तव्य केही पनि स्पष्ट नभएको उल्लेख गरेका छन्।