२०७९ माघ १६ गते
विराटनगर : नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राष्ट्रपतिमा नेपाली कांग्रेसले दाबी गर्न नमिल्ने बताएका छन्। सोमबार विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन्।
महासचिव पोखरेलले नेपाली कांग्रेसले पहिला आफूले आफ्नो ‘पोजिसन’ कुन हो ? भन्ने प्रष्ट पार्नुपर्नेसमेत बताए।
‘अहिले कांग्रेस न सत्ता पक्ष न प्रतिपक्ष जस्तो देखिएको छ,’ उनले भने ‘दिशाहीन अवस्थाको जस्तो देखिएकाले पहिला ऊ सचिन्न पर्छ।’ नेपालको लोकतान्त्रिक आन्दोलनको पुरानो पार्टीयस्तो अवस्थामा रहनु दु:खको कुरा रहेको उनको भनाइ थियो।
कांग्रेसले नेपालका प्रमुख पदहरूमा दाबी गर्नुको कुनै अर्थ नरहेको बताउँदै उनले दाबी गर्नका लागि उसले सत्ता पक्षका रूपमा घोषणा गर्नुपर्नेमा जोड दिए।
अहिलेसम्म कांग्रेसले प्रतिपक्ष भनेर दाबी गर्दै संसद सचिवालयमा पत्र पठाएको उनले बताए। कांग्रेस आफू पहिला सच्चिनु पर्नेमा जोड दिँदै उनले मात्रै राष्ट्रपतिमा दाबी गर्न मिल्ने बताए।
राष्ट्रपतिको चुनावको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवहार नकारात्मक नभएको उनले दाबी गरे।
‘प्रधानमन्त्रीको भूमिकामा शंका गर्ने ठाउँ छैन,’ उनले भने,
‘राष्ट्रिय सहमति खोज्नुको अर्थ प्रतिपक्षलाई दिनु भन्ने होइन, प्रधानमन्त्रीले पनि सत्ता गठबन्धनभित्रबाट नै राष्ट्रपति होस् भन्ने चाहनुभएको छ।’
राष्ट्रपतिमा एमालेको उम्मेदवार हार्छ भन्ने कल्पनै गर्न नसकिने उनको तर्क रहेको छ। संघदेखि प्रदेशसम्म नै गठबन्धनको सरकार रहेकाले सत्ता गठबन्धनको उम्मेदवारले राष्ट्रपति हुने बताएका छन्।
नेपाली कांग्रेसले सत्ताबाहिर रहँदा अस्थिरता ल्याउनका लागेको आरोप पनि उनले लगाएका छन्।
रवि लामिछानेको प्रसंगमा गृहमन्त्री बनाउन बालकोटको दबाब हो रे नि? भन्ने प्रश्नमा उनले कुनै खाल्को दबाब नरहेको दाबी गरे।
अहिले कुनै पनि खाल्को दबाब नदिएको बताउदै उनले गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टी बीच छलफल भएर मात्रै टुङ्गिने बताए।
रवि लामिछानेको मुद्दाको फैसलाप्रति असन्तुष्टि व्यक्त गर्दै उनले न्यायलयको भूमिका निष्पक्ष नभएको समेत आरोप लगाए।
न्यायालय भनेको निष्पक्ष हुनुपर्ने तर्क गर्दै उनले अरूको पनि अदालतमा पहिलादेखि नै नागरिकता विवाद रहेकाले यसको छानबिन नभई रविको मात्रै हुनुले न्यायालय निष्पक्ष नरहेको समेत पुष्टि गरेको बताए।