६ श्रावण २०८० शनिवार
काठमाण्डौः—काठमाण्डौ महानगरपालिकाले आफू मातहतका सम्पूर्ण सामुदायिक विद्यालय व्यवस्थापपन समिति भंग गर्ने निर्णय गरेको छ । महानगरापलिकाको गत असार ३० गते सम्पन्न नगरसभाले उक्त प्रस्ताव गरेको हो । नगरसभाले हालको समिति भंग गरेर सम्बन्धित वडाका अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पारित गरेको छ ।
नगरसभाले पारित गरेको प्रस्ताव प्रति सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले असन्तुष्टि जनाएका छन।महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले नगरसभाले पारित गरेपनि उक्त निर्णय हालसम्म प्रमाणिकरण नभएको जानकारी दिए ।नगरसभाले पारित गरेको प्रस्ताव मुख्य प्रशासकीय अधिकृतबाट प्रमाणिकरण भएपछि मात्रै राजपत्रमा प्रकाशित हुने व्यवस्था छ ।
नगरसभाले पारित गरेको निर्णय सामान्यतया १५ दिनभित्र प्रमाणिकरण गर्ने व्यवस्था छ ।तर प्रमाणिकरण भएको भोलिपल्ट देखि नै पुरानो समिति स्वतः भंग हुने छ भन्े वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्ने छन ।
महानगरपालिकाभित्र ८९ वटा सामुदायिक विद्यालय छन। महानगरपालिकाभित्र ३२ वटा वडा छन ।नयाँ व्यवस्था अनुसार व्यवस्थापन समिति गठन भएको अवस्थामा एकै वडाध्यक्षले थुप्रै विद्यालयको व्यवस्थापन समिति सम्हाल्नुपर्ने हुन्छ ।
नगरसभाले विद्यालय व्यवस्थापन समिति भंग गर्ने निर्णय गरेसंगै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा हालका व्यवस्थापन समितिका पदाधिकारीले असन्तुष्टि जनाएका छन ।वर्तमान समिति भंग गरेर वडाध्यक्षको अध्यक्षतामा नयाँ समिति गठन गर्ने व्यवस्थाले विद्यालयमा प्रतिगमन भित्रिन लागेको र यसले आफूहरुलाई समेत समस्यामा पार्ने भन्दै उनीहरुले विरोध गर्ने संकेत गरेका छन ।