६ श्रावण २०८०, शनिबार
काठमाडौं :-माओवादीले तत्कालीन समयमा युद्ध थाल्नुअघि कृष्णबहादुर महरा शिक्षक थिए । त्यसैले पनि उनलाई माओवादीभित्र महरा सर भनेर चिनिन्छ ।
वर्षमान पुनदेखि नेत्रविक्रम चन्द विप्लवलाई समेत पढाएका महरा माओवादी शान्ति प्रक्रियामा आउँदा हर्ताकर्ता थिए । त्यसपछि उनी चिनियाँ नागरिकसँग रकम मागेको हुँदै गम्भीर अपराधमा मुछिए ।
विभिन्न काण्डमा मुछिएका महरा फेरि तस्करीको सुनमा पनि मुछिएका छन् । ६ पटक मन्त्री र उपप्रधानमन्त्री हुँदै सभामुख बनेका महरा माओवादी केन्द्रभित्र शक्तिशाली नेता थिए । उनलाई प्रचण्डले विश्वास गरेकै कारण उनी तत्कालीन नेकपाको पालामा सभामुख पनि बने । तर, उनको विगत प्रष्ट र सफा रहनै सकेन् ।
लडाकु शिविर प्रकरणमा समेत नाम मुछिएका उनी ०६२्६३ को जनआन्दोलन सफल भएपछि बनेको नयाँ सरकारमा सूचना तथा सञ्चारमन्त्री भए । त्यसपछि उनले कौडीको भाउमा फ्रिक्वेन्सी वितरण गरेको आरोप लाग्यो ।
त्यसबेला उनले पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंह र व्यवसायी अजयराज सुमार्गीसँग मिलेर प्रिक्वेन्सी ‘प्लटिङ’ गरेर सस्तो मुल्यमा वितरण गरेको आरोप लाग्यो ।
माओवादी युद्धबाट आएको बेला उनले थुप्रै विवाद सिर्जना गरिदिए । जसमा उनका छोरा निर्मल महराको एनजीओमा चिनियाँ लगानी आएको समेत हल्ला चल्यो ।
यसरी महरा विवादमा पर्दै आए । तर, प्रचण्डले उनलाई सधैं विश्वास गरिरहे । त्यसपछि महराले एक चिनियाँ नागरिकलाई नेपालमा सांसद खरिद गर्न भन्दै ५० करोड मागेको अडियोे नै २०६७ भदौ १८ गते त्यसताकाको नेपाल वान टेलिभिजनले सार्वजनिक ग¥यो । जुन अडियोलाई महरा आफूले भने स्वीकार गरेनन् ।
यसपछि महरा ३३ किलो सुनकाण्डमा पनि मुछिए । ३३ किलो सुनमा महराको नाम मुछिएपछि उनी आफैले ठूला माछा समात्नुपर्ने र आफू सानो माछा भएको अभिव्यक्ति नै दिए ।
यो प्रकरणमा पनि उनी जोडिए तर, अनुसन्धान भने प्रभावकारी हुन सकेन् । विवादमा परिरहने महरालाई संसद सचिवालयमा कार्यरत एक महिलामाथि यौन दुर्व्यवहारको आरोप लाग्यो ।
उनलाई सभामुख निवासबाटै पक्राउ पनि गरियो । तर, अदालतबाट सफाई पाएका महरासँग यस प्रकरणले प्रचण्ड भने असन्तुष्ट बने ।
प्रचण्डलाई मोहन वैद्य ’किरण’ नेतृत्वको पार्टी विभाजन हुँदा नै महराप्रति झस्को पसेको बताइन्छ । पार्टी फुटाउन उक्साएर आफू प्रचण्डसँगै रहेका महराले माओवादीबाट सत्ता प्राप्ति भने पाइरहे ।
त्यसपछि राजनीतिक रुपमा बौरिन नसकेका महराको नाम फेरि तस्करीको सुनमा जोडिन पुगेको छ । उनका छोरा राहुल महराको समेत नाम जोडिएर आएपछि त महरामाथि अनुसन्धानको माग नै गर्न थालेका छन् ।
भेपमार्फत सुन तस्करी प्रकरणमा महराको बाउ छोराको नाम जोडिन पुगेको हो । यसरी महरा कयौं विवादमा फस्दै आएका छन् । तर, उनले विज्ञप्ति नै जारी गरेर राजनीतिक पूर्वाग्रह साँध्न आफूमाथि आरोप लगाइएको दाबी गरेका छन् ।
यता, सरकारकी प्रवक्ता समेत रहेकी सञ्चार मन्त्री रेखा शर्माले त उनको बचाउ नै गरिसकेकी छन् । महराको नाम गलत तरिकाले जोडिएको उनको दाबी छ ।
रोल्पाको शिक्षकदेखि सभामुखसम्म पुगेका महरा किन विवादमा परिरहन्छन रु विवादमा पर्दा पनि उनी पार्टीभित्र निर्णायक बनिरहनुको कारण के हो रु यस्ता प्रश्न आम रुपमा उठ्ने गरेको छ । तर, प्रचण्डले पछिल्लो समय महरालाई स्पेस दिन नचाहेको प्रष्ट देखिन्छ ।
पार्टीमा प्रभावकारी भूमिका नदिएपनि महराले पछिल्लो समय विप्लवलाई माओवादीमा भित्र्याएर फेरि प्रचण्डमाथि दबाब सिर्जना गर्ने रणनीति अख्तियार गरेका छन् ।
उसोतः विप्लवलाई भित्र्याउन तल्लिन महरा वर्षमान पुन र जनार्दन शर्माबाट घेरिएका छन् । के महराले फेरि माओवादीमा शक्ति सन्तुलन कायम गरेर शक्तिशाली बन्लान रु
आरोपका बादशाह बनेका महरामाथि माओवादीले नै अनुसन्धान गर भन्ला रु यस्ता तमाम प्रश्न उब्जिएपनि माओवादी नेतृत्वको सरकारले आरोप लागिसकेपछि महरामाथि निष्पक्ष अनुसन्धान भने गर्नैपर्ने आवाज उठ्न थालेको छ ।
के प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले महरामाथि सुशासनको डण्डा चलाएर अनुसन्धानको बाटो खोज्लान्? यो हेर्न भने कुर्नैपर्नेछ ।स्रोत न्युज 24