१८ मंसिर २०८१,मंगलबार
रौतहट । रौतहटको चन्द्रनिगाहापुर नगरपालिकामा रहेको आधुनिक प्राथमिक विद्यालय राजपैडाका प्रधानाध्यापक किशोरी चौधरीले कीर्ते हस्ताक्षर गरेर रकम निकालेको खुलेको छ ।
कीर्ते हस्ताक्षर गरी विद्यालयको बैंक खातामा रोक्का रहेको २९ लाख ३५ हजार ५२९ रुपैयाँ निकाली हिनामिना गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटले उनलाई पक्राउ गरेको छ ।पक्राउ परेका चौधरी विरुद्ध लिखतसम्बन्धी कसुरमा रौतहट जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको रौतहटका डीएसपी दीपककुमार रायले बताए ।उक्त रकम निकालेपछि प्रधानाध्यापक चौधरीले नगरपालिकाको पत्रहरूमा कीर्ते हस्ताक्षर गरी बाँकी रहेको २९ लाख ३५ हजार ५२९ रुपैयाँ निकाली हिनामिना गरेको आरोप छ ।
नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को विशेष अनुदानबाट ४ कोठे भवन निर्माणका लागि ४७ लाख ७५ हजार ५१२ रुपैयाँ निकास भएको थियो । भवन निर्माणको ठेक्का ब्रह्म बाबा कन्ट्रक्सनलाई दिइएको थियो । काम भएपछि रकम नियमानुसार भुक्तानी पाउने गरी रोक्का गरिएको थियो ।प्राविधिक जाँच तथा पहिलो रनिङ बिल भरपाइको आधारमा नगरपालिकाको पत्रद्वारा २० लाख १० हजार ५२९ रुपैयाँ ब्रह्म बाबाले पाउने गरी रकम फुकुवा गरिएको थियो ।