Jan,7 2023
संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसको नयाँ सब—भेरिअन्ट तीव्र गतिमा फैलिन थालेकापछि सर्वत्र चासो र चिन्ता व्यक्त गरिएको छ एक्सबीबी.१.५ नामक भेरिअन्ट फैलिएसंगै यसले स्वास्थ्य सुरक्षामा ठुलो चुनौति थप्ने आकलन गर्न थालिएको छ ।यो ओमिक्रोन भेरिअन्टकै एउटा उपप्रकार हो। ओमिक्रोन विश्वभरि सबैभन्दा बढी सक्रिय कोरोना भाइरसको प्रकार हो।
ओमिक्रोनको उत्पत्ति त्यसअघिका अल्फा,बीटा,गामा अनि डेल्टा भेरिअन्टबाट भएको हो।सन् २०२१ को अन्त्यतिर देखा परेको ओमिक्रोन भेरिअन्ट कोरोनाभाइरसका त्यसअघिका सबै सब(भेरिअन्ट भन्दा सक्रिय हुन पुग्यो।

अनि यो भेरिअन्टबाट अन्य कैयौँ सब—भेरिअन्टहरू पनि बन्दै गए जुन थप सङ्क्रामक छन्।एक्सबीबीं.१.५ .का कारण हुने सङ्क्रमणका लक्षणहरू ओमिक्रोन भेरिअन्टले कोभिड गराउँदा हुने जस्तै रहेको ठानिएको छ।
तर यसबारे अझै टुङ्गोमा पुगिहाल्ने अवस्था भने बनिसकेको छैन।यसबाट सङ्क्रमण हुँदा अधिकांश बिरामीलाई चिसो लाग्दा उत्पन्न हुने समस्या देखा पर्ने बताइएको छ।
के एक्सबीबी.१.५. कोरोनाभाइरसका पुराना प्रकारभन्दा सङ्क्रामक वा घातक छ?
एक्सबीबी.१.५ आफैँ (एक्सबीबी) भेरिअन्टबाट विकासित भएको हो। उक्त भेरिअन्ट सन् २०२२ को अगस्ट महिनामा भारतमा पहिलो पटक पहिचान गरिएको थियो।तर यो भेरिअन्टलाई त्यहाँका स्वास्थ्यसम्बन्धी निकायहरूले “भेरिअन्ट अफ कन्सर्न” अर्थात् चिन्ताजनक भेरिअन्टका रूपमा वर्गीकृत गरेका छैनन्।
एक्सबीबी कोरोनाभाइरसको उत्परिवर्तित स्वरूप हो। त्यसले शरीरको प्रतिरक्षा प्रणालीलाई असफल गराउन सहयोग गर्छ।तर उत्परिवर्तनकै कारणले यो भाइरसको सङ्क्रमण गर्ने क्षमता पनि कम हुन्छ।

इम्पिअरिअल कलेज लन्डनकी प्राध्यापक वेन्डी बर्कका अनुसार एक्सबीबी.१.५ मा (एफ४८६पी) नामक उत्परिवर्तन भएको छ। त्यसले भाइरसलाई मानिसको प्रतिरक्षा प्रणालीबाट जोगिँदै कोशिकाहरूमा टाँसिने क्षमतालाई पुनर्स्थापित गर्छ।
त्यसले गर्दा यो अझ सहजै रूपमा फैलिन्छ।विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका वैज्ञानिकहरूका अनुसार अरू सब(भेरिअन्टको तुलनामा एक्सबीबी.१.५ लाई फैलिने अनुकूल परिस्थिति बढी हुन्छ।तर ओमिक्रोन भेरिअन्टभन्दा गम्भीर वा हानिकारक रहेको भने कुनै सङ्केत देखा परेको छैन।
बिरामीहरूमा पर्ने प्रभावबारे थप जानकारी प्राप्त गर्न आफूहरूले प्रयोगशालामा भइरहेका अध्ययन,अस्पतालहरूको तथ्याङ्क अनि सङ्क्रमण दरलाई नजिकबाट नियाल्ने डब्ल्यूएचओले जनाएको छ।