१६ आश्विन २०८०, मंगलवार
काठमाडौँ :- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकार अनुत्तरदायि र गैर जिम्मेवार भएको बताएका छन् ।
मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले वर्तमान सरकार स्वेच्छाचारी, विकास विरोधी रहेको बताए । उनले अहिले विकासका कामलाई ठप्प पारिएको भन्दै काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना गरिएको बताए ।
‘नेपाली काँग्रेस नेतृत्वको गठबन्धन, त्यसपछि अहिलेको नेकपा (माओवादी केन्द्र) को नेतृत्वको गठबन्धन कस्ता देखिएका छन् ततपाईहरु हामी सबैलाई थाहा छ,’ ओलीले भने, ‘भन्न मिल्नु, नमिल्नु, सक्नु, नसक्नु, बेग्लै कुरा हो । यी सरकारहरु चरम अनुत्तरदायि, गैर जिम्मेवार छ । स्वेच्छाचारी देखिएका छन्, विकास बिरोधी देखिएका छन् । विकासका कामलाई ठप्प पारेका छन् । चलिरहेका आयोजनाहरु रोकिएका छन् । काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी दिइएको छैन । भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको छ । उनीहरुले ऋण तिर्न सकेका छैनन् । दिनुपर्नेलाई आफूले सामान लिएकाहरुलाई, लगाएका कामहरुमा भुक्तानी दिन सकिएको छैन ।’
अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) को नेतृत्वको गठबन्धनले कुनै राम्रो काम गर्न नसकेको बताए । साथै उनले शान्ति प्रक्रियाका बाँकी काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल तयार नभएको आरोप समेत लगाए ।
उनले आफू प्रधानमन्त्री रहँदा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन खोज्दा प्रधानमन्त्री दाहालले नै नमानेको आरोप लगाए । साथै फागुन १ गतेलाई सरकारी बिदा दिने कुरा मान्य नहुने भन्दै ओलीले फागुन १ गते दिने बिदाको निर्णयलाई फिर्ता नलिए आफूहरुले कदम चाल्नुपर्ने चेतावनी समेत दिए । आगामी मन्त्रीपरिषद्को बैठकबाट नै सो निर्णय फिर्ता लिन चेतावनी दिँदै उनले हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर उत्सवको रुपमा मनाउन आफूहरु तयार नरहेको बताए ।