९ बैशाख २०८०, शनिबार
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन् । उनले आज बोलाइएको प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।
विश्वासको मत लिने प्रयोजनका लागि गण्डकी प्रदेशको दिउँसो तीन बजे प्रदेश सभा बैठक बोलाइएको छ । उनले सोही बैठकमार्फत विश्वासको मत लिने छन् ।
केन्द्रको समीकरण मिलाउन गण्डकीमा माओवादीबाट मन्त्री बनेकाहरुले राजीनामा दिँदै मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए ।
कानुनत आफूलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । सोही अनुसार अधिकारीले आज विश्वासको मत लिने भएका हुन् ।
६० सदस्यीय प्रदेशसभाबाट विश्वासको मत पाउन मुख्यमन्त्री अधिकारीलाई ३१ सांसदको समर्थन आवश्यक पर्छ । जसमा काँग्रेसको २७ एमालेका २२, माओवादीका ७, राप्रपाका दुई र एकीकृत समाजवादीका एक सांसद छन्।
हालको समीकरण अनुसार अधिकारीले विश्वासको मत पाउने सम्भावना छैन । एमालेलाई समर्थन गर्ने वर्तमान समीकरणमा राप्रपा मात्रै हो । जसअनुसार राप्रपा र एमालेको सांसद संख्या जोड्दा २४ मात्रै पुग्छ । जबकी उनलाई विश्वासको मत प्राप्त गर्न ३१ सांसद चाहिन्छ ।