२३ पुस २०८० सोमबार
दाङ । यातायात व्यवस्था कार्यालय र आन्तरिक राजश्व कार्यालय तुलसीपुरको सेवा घोराहीमा पनि बिस्तार हुनुपर्ने माग गर्दै घोराही बनाऔं अभियानले जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र बुझाएको छ ।
सोमबार घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासन, सल्लाहकारहरु उदयजिएम, रबिकिरण केसीलगायत पदाधिकारी एवं सदस्यहरुको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीलाई यातायात र आन्तरिक राजश्व कार्यालयको सेवा घोराहीमा हुनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
घोराही बनाऔं अभियानले नीतिगत निर्णयका लागि सम्माननीय प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमाडौंलाई जिल्ला प्रशासन कार्यालय दाङ मार्फत र जिल्लाको सेवा बिस्तारको सवाल भएकाले सम्बन्धित कार्यालयसँग समन्वय गरेर सेवा बिस्तार गर्न नेतृत्वदायि भूमिका निर्वाह गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय दाङलाई दुईवटा ज्ञापनपत्र बुझाएको अभियानका संयोजक सविन प्रियासनले जानकारी दिए ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले घोराही बनाऔं अभियान नागरिक दबाब सिर्जना गर्दै समाजमा शान्ति सुरक्षा, विकास निर्माणलगायतका कामहरुमा सहयोगी संस्थाकारुपमा स्थापित हुन खोजेकोमा प्रशंशा गर्दै दुबै कार्यालयको सेवा बिस्तार घोराहीमा हुनुपर्ने माग जायज भएकाले यसका लागि आफ्नो तर्फबाट सहयोग रहने बताए।