असार ४, २०८० सोमबार
काठमाण्डाै – चार दल मिलेर समाजवादी मोर्चा घोषणा गरेका छन् । सत्तारूढ गठबन्धनमा रहेकाे नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र संसदबाहिर रहेकाे नेकपा कम्युनिस्ट पार्टी मिलेर आज सोमवार समाजवादी माेर्चा घाेषणा गरेका हुन् ।
काठमाण्डाैकाे राष्ट्रिय सभागृहमा भएकाे कार्यक्रममा चार दलका अध्यक्षहरूले सहमतिपत्रमा हस्ताक्षर गर्दै समाजवादी मोर्चाको घोषणा गरेका हुन् । सहमतिपत्रमा माअोवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले हस्ताक्षर गरेका छन् ।
नेपाली मौलिकतासहितको समाजवाद स्थापना गर्ने र नेपालको संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्यसहित मोर्चा गठन गरिएको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
माेर्चाले दैनिक कार्यसञ्चालनका लागि एउटा सचिवालय गठन गर्नेछ । मोर्चालाई स्थानीयस्तरसम्म विस्तार गरिनेछ ।
समाजवादी मोर्चामा विप्लव मिसिएपछि हामीमा लागेका धुलो मैलो सफा हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पनि मिसिएपछि मोर्चाको दूरगामी प्रभाव देखिएको ठोकुवा गरेका छन् ।
सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले विप्लव नेतृत्वको पार्टी मिसिएको यो मोर्चाको गुणात्मक र दूरगामी महत्व बढेको बताउँदै संसदमा लागेकाहरुको धुलोमैलो सफा गर्ने मद्धत मिलेको पनि बताए ।
उनले भने, ‘विप्लव नेतृत्वको पार्टी मिसिएको यो मोर्चाको गुणात्मक महत्व छ । हामी संसदमा लागेकाहरुमा केही धुलोमैलो लागेको छ । सायद विप्लव कमरेडजस्ता पार्टीहरु मोर्चामा आउँदा हाम्रो धुलो मैलो सफा गर्न पनि मद्धत हुन्छ भन्ने मलाई लाग्छ । त्यसैले आजको मोर्चाको गठन र दूरगामी छ, क्षणिक छैन । दुःख, कमजोरी सबैबाट पाठ सिक्दै प्रतिगमनविरुद्ध यो मोर्चा गठबन भएको हो ।’
मोर्चा अन्तिम नभइ पहिलो पाइला भएको पनि उनले बताएका छन् । साथै, विगतमा हतारमा पार्टी एकता गरेर व्यवहारमा सफल बनाउन नसकेकोमा अबको विकल्प मोर्चा नै रहेको उनले बताए ।
उनले भने, ‘समाजवादी मोर्चा पहिलो पाइला हो अन्तिम पाइला हो । नयाँ युगतिर देशलाई लैजाने प्रक्रियाको सुरुवात भएको छ । हिजो हतारमा एकता गरेर व्यवहारमा सफल बनाउन नसकेका सबै पार्टी र नेताहरुलाई पनि हामी मोर्चाको बाटोबाट जाआँै । वैज्ञानिक बाटोबाट जाऔँ । अन्य वामपन्थी, प्रगतिशील दललाई यो मञ्चबाट अपिल गर्न चाहन्छु । सबैले आत्मसमीक्षा गरौँ ।’
निर्वाचनअघि नै तीन दलबीच समाजवादी मोर्चा अघि बढाउने छलफल भएको थियो तर, विविध कारण असम्भव भएको उनले बताए । यद्यपि, अहिले विप्लव नेतृत्वको माओवादी पनि समाजवादीमा मिसिएकोमा उनले यसको दूरगामी प्रभाव झनै देखिएको बताए ।
कसैसँग मुकाबिला गर्नका लागि समाजवादी मोर्चा निर्माण गरिएको होइन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कसैसँग मुकाविला गर्नका लागि समाजवादी मोर्चा निर्माण नगरिएको बताएका छन् ।
कांग्रेसलाई तर्साउन र एमालेसँग मुकाविला गर्नका लागि मोर्चा बनाउन लागिएको टिप्पणी एमाले अध्यक्ष केपी ओलीले गरेको स्मरण गराउँदै उनले यस्तो भनाई राखेका हुन् ।
अध्यक्ष नेपालले प्रतिगमनका विरुद्धमा भने मोर्चाले डटेर सामना गर्ने बताए ।मोर्चा कसैलाई तर्साउन र मुकाविला गर्नका लागि नभएको नेपालको भनाई थियो । उनले प्रतिगमनमा पक्षमा नभएकाहरु मोर्चासँग डराउन सक्ने जिकीर समेत गरे ।
अध्यक्ष नेपालले भने, ‘यो मोर्चा स्वार्थको मोर्चा होइन । यो मोर्चा सिद्धान्तहिन मोर्चा होइन । यो मोर्चा विचारहिन मोर्चा होइन । यसको प्रष्ट उद्देश्य छ । त्यो उद्देश्य भनेको के हो भने प्रतिगमनका विरुद्धमा र यथास्थितिको विरुद्धमा परिवर्तनका लागि एकतावद्ध हुने सम्पूर्ण देशभक्तहरु र समाजवादी शक्तिहरुलाई हामी एकतावद्ध बनाएर लैजान चाहन्छौं । मैले सुनिरहेको छु–केहीकेही नेताहरुलाई परेको रहेछ कि यो मोर्चा अहिले बनेको छ । त्यसको पछाडि दुईटा कुरा होला । कसैलाई तर्साउन र कसैको मुकाविला गर्न । यो कसैलाई तर्साउन पनि गरेको होइन । कसैको मुकाविला गर्नका लागि पनि होइन ।’
अध्यक्ष नेपालले अग्रगमनका पक्षधर सबै शक्तिहरुलाई मोर्चामा आबद्ध हुन पनि आह्वान गरे । सत्तापक्ष र सत्ता बाहिर रहेका दल सहभागी रहेको मोर्चाले सबै शक्तिहरुलाई समेटने सामथ्र्य राखेको पनि उनले बताए ।
अध्यक्ष नेपालले देशभक्त र क्रान्तिकारी शक्तिहरुसँग हातेमालो गर्दै अघि बढाउने योजना मोर्चासँग रहेको समेत बताए । उनले भने, ‘कमरेड विप्लवलाई मात्रै होइन, अरु समूह पनि छुटनु भएको छ भने उहाँहरुलाई पनि हामी हार्दिक स्वागत गर्न चाहन्छौं–आउनुस् हातेमालो गरौं । नआत्तिनोस् । नतर्सिनुहोस् । हामी तर्साउन चाहदैनौं । घुक्र्याउन पनि चाहदैनौं । र, हामीलाई मुकाविला पनि गर्नु छैन । हाम्रो जहिले पनि साथ अग्रगमनको पक्षमा हुनेछ । यसैकारण अग्रगमनका पक्षधर हामी शक्तिहरु एक भएर उभिएका छौं ।’
अध्यक्ष नेपालले समाजवादी शक्तिमा रहेका जनताको प्रभावलाई विस्तार गर्न पनि आफूहरुले सो मोर्चा निर्माण गरेर अघि बढने निर्णय लिएको बताए ।
समाजवादी मोर्चाबाट ओली तर्सिनु पर्दैन : उपेन्द्र यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी ओलीलाई समाजवादी मोर्चादेखि नतर्सिन आग्रह गरेका छन् ।
यादवले ओलीप्रति संकेत गर्दै उनले केही दिनदेखि मिडियामा बरबराउन थालेको भन्दै मोर्चासँग तर्सिन नपर्ने बताएका हुन् ।
अध्यक्ष यादवले मोर्चा कसैका विरुद्ध लक्षित नरहेको पटकपटक दोहोर्याए । परिवर्तनका मुद्दालाई अगाडि बढाउने, राष्ट्र निर्माणलाई अगाडि बढाउने र मुलुकमा देखा परेका समस्यालाई हल गर्दै अगाडि बढनका लागि मोर्चा गठन गरिएको उनको तर्क थियो ।
अध्यक्ष यादवले प्रतिगमनका पक्षधर, संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध उभिनेहरुका विरुद्धमा भने मोर्चाले संघर्ष गर्ने चेतावनी समेत दिए । उनले समानता, सामाजिक न्याय र समतामा आधारित एउटा समाजवादी समाजको निर्माण गर्ने दिशातर्फ अगाडि बढनका लागि नै मोर्चा गठन गरिएको र त्यसमा सफलता हात पार्ने दावी समेत गरे ।
अध्यक्ष यादवले भने, ‘हुन त यहाँ मोर्चा, गठबन्धन बन्दै, भत्किदै गएकाले मान्छेलाई अलिकति क्या हो, कसो हो ? भन्ने लागेको पनि हुन सक्दछ । त्यो आशंका हुन पनि सक्छ । त्यसलाई हामीले व्यवहारबाट गलत सावित गर्दै यो मोर्चा निश्चित उद्देश्यका लागि निर्माण गरिएको मोर्चा हो । र, यसलाई सबैले सहयोग गर्नु हुनेछ । र, यसले आफ्नो लक्ष्यतर्फ अगाडि बढने कुरामा मत ढुक्क छु । हाम्रो प्रयास रहनेछ । र, यो गठबन्धनले, मोर्चाले गर्दा कसैलाई तर्सिनुपर्ने जरुरी छैन ।’
अध्यक्ष यादवले आफ्नै देशका नागरिकलाई नागरिकताबाट बञ्चित गराउने प्रयास भएको भन्दै त्यसका विरुद्ध संघर्ष गर्न पनि सबैलाई तयार रहन आग्रह गरे । उनले संविधानमा रहेका त्रुटी, कमीकमजोरीलाई सच्याउँदै लैजाने काममा पनि मोर्चाले काम गर्ने बताए ।
अध्यक्ष यादवले सबै समूदायका जनतालाई परिवर्तनको अनुभूति गराउन लागि सामूहिक प्रयास गर्न पनि समाजवादी मोर्चा उपयोगी हुने बताए ।
समाजवादी माेर्चा नेपाली राजनीतिकाे नयाँ माेड : महासचिव विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देश अत्याशलाग्दो राजनीतिक परिस्थितिबाट गुज्रिरहेको बताएका छन्। महासचिव विप्लवले देशमाथि अतिक्रमण भइरहेकाले जनतामा अत्याचार मच्चिरहेको बताएका हुन्।
‘नेपाल अहिले अत्यासलाग्दो राजनीतिक परिस्थितिबाट गुज्रिरहेको छ। नेपालमा थुप्रै खालका संकटहरू हाम्रो टाउकोमाथि घुमिरहेका छन्। देशमाथि अतिक्रमण भइरहेको छ। जनतामा अत्याचार मच्चिरहेको छ। नागरिकहरूमा एउटा छटपटी छ। निराशा र आशाको दोधारमा युवापंक्ति उभिरहेको छ। अग्रगमन र पश्चगमनको लडाइँमा नेपाल उभिरहेको छ। अन्यौलता र आकांक्षाको बीचमा नेपालका नागरिकहरू उभिरहेका छन्। यो विशिष्ट परिस्थिति सामान्य छैन,’ उनले भने।
महासचिव विप्लवले देशको अहिलेको परिस्थितिमा चार दलका नेताका बीचमा लामो छलफलपछि समाजवादी मोर्चाको घोषणा गरिएको बताउँदै कुनै पनि मूल्यमा आजको संकटबाट पश्चगामी र प्रतिगामीहरूलाई मौकाको फाइदा उठाउन दिन नहुने बताए।
‘तपाईंहरू सबैको सुझाव र शुभेच्छापछि जनताको चाहनाअनुरूप नेपाललाई आजको परिस्थितिबाट मुक्त गर्नुपर्छ। कुनै पनि मूल्यमा आजको संकटबाट पश्चगामी र प्रतिगामीहरुलाई मौकाको फाइदा उठाउन दिनु हुँदैन। देशमाथि आँखा लगाउने साम्राज्यवादीलाई कुनैपनि स्थितिमा स्वीकार गर्न सकिँदैन। जनताको अधिकारको लागि एउटा लडाइँ अगाडि बढाउनुपर्छ भन्ने सोचका साथ इतिहासमा हामीले समाजवादी मोर्चाको अवधारणा अगाडि ल्याएका छौँ,’ उनले भने।