काठमाडौं : काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानको मौसम बदली भएको छ। बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा बाक्लो हुस्सु लागेको छ। उपत्यकामा बिहानैदेखि हुस्सु र कुहिरोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् ।
बाक्लो हुस्सु लाग्दा बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका हुन्।
विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सकेपनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिए। ‘खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको छ,’उनले भने। मौसममा सुधार आएपछि नियमितरुपमा विमान उडान हुने महाप्रबन्धक ठाकुरले बताए।
काठमाडौंसहित देशका पहाडि तथा तराईका भू-भागमा हुस्सु/ कुहिरो लागेको छ।
हाल नेपालको पूर्वी भागमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसममा परिवर्तन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल प्रदेश १,बागमती र गण्डकी प्रदेशको भू-भागमा आंशिक बदली रही तराईका थोरै भू-भागमा हुस्सु लागेको छ।
आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती भने प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने र देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले आवश्यक सावधानी अपनाउनु मौसमविद्हरुले आग्रह गरेका छन्।