माघ २०,२०८१ आइतबार
दाङ।घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले छात्रवृत्ति कार्यक्रमलाई कार्यान्वयन गर्न संस्थागत विद्यालयहरुलाई आग्रह गरेका छन।आइतबार घोराही १५ मा रहेको सिद्धार्थ एकेडेमी को ४४ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख चौधरीले शिक्षा सम्बन्धी ऐनले व्यवस्था गरेको १० प्रतिशत छात्रवृत्तिलाई कार्यान्वयन गर्न आग्रह गरेका हुन।उनले विभिन्न वहानामा अभिभावकबाट शुल्क नलिन समेत सम्बद्ध विद्यालयहरुलाई आग्रह गरे ।
‘प्रत्येक कक्षामा अध्ययन गर्ने बालबालिकाका लागि शिक्षा ऐनमा कम्तीमा १० प्रतिशत छात्रवृत्तिको व्यवस्था गर्नु पर्ने उल्लेख गरिएको छ,’नगर प्रमुख चौधरीले भने‘हामीले पनि पालिकाको शिक्षा ऐनमा सोही अनुसार छात्रवृतिको व्यवस्था गरेकोले कार्यान्वयन गर्नुको विकल्प छैन।’नगरप्रमुख चौधरीले शिक्षामा सबैको समान पहुँच पु¥याउन छात्रवृत्ति कार्यक्रमलाई अनिवार्य रुपमा लागु गर्नै पर्ने बताए।
अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन,२०७५ मा उल्लेख भए बमोजिम निजी लगानीका विद्यालय र सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित विद्यालयले प्रारम्भिक बालविकास तहदेखि कक्षा १२ कक्षासम्म छात्रवृत्तिको व्यवस्था गरिएको छ।ऐनमा व्यवस्था गरिए अनुसार ५०० जनासम्म विद्यार्थी भएका विद्यालयले १० प्रतिशत,५०० देखि ८०० सम्म विद्यार्थी भएका विद्यालयले कम्तिमा १२ प्रतिशत र ८०० देखि बढी विद्यार्थी संख्या भएका विद्यालयले कम्तिमा १५ प्रतिशत विद्यार्थी निःशुल्क शिक्षा प्रदान गर्नुपर्ने व्यवस्था छ।तर ऐनमा व्यवस्था भएबोजिमको छात्रवृत्ति कार्यक्रम अझै कार्यान्वयनमा नसकेको भन्दै यसलाई नियमन गर्न जरुरी रहेको नगरप्रमुख चौधरीले बताए।
चौधरीले समयानुकूल शिक्षाको विकास हुन नसक्दा युवाहरु विदेशिने क्रम बढिरहेकाले यसलाई रोक्न प्रबिधिमैत्री,सीपमूलक र विद्यार्थीहरुलाई उद्यमशिलतासंग जोड्ने खालको शिक्षा प्रदान गर्नु पर्ने बताए।उहाँले शिक्षाको गुणस्तर सुधारका लागि स्थानिय सरकारको प्रयासले मात्रै नपुग्ने बताउदै अभिभावक पनि उत्तिकै जिम्मेवारी रहने बताए ।


