फागुन ३,२०७९ बुधबार
जनकपुरधाम : धनुषा प्रहरीले यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट बुधबार दुईजना बिचौलियालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका-३ बस्ने ३३ वर्षीय अनिल साह र एकडारा गाउँपालिका-३ बस्ने ३५ वर्षीय वीरेन्द्र साह रहेका छन्।
साहद्वयलाई यातायात कार्यालयमा आउने सेवाग्राहीलाई काम छिटो छरिटो गराइदिन्छु भनी आर्थिक लाभ लिई बिचौलियाको काम गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश गौतमले बताए।
सेवाग्राहीसँग तोकेको कर शुल्कभन्दा बढी रकम लिइरहेको अवस्थामा उनीहरू दुबैजनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख विश्वराज खड्काले जानकारी दिए।