फागुन १,२०७९ सोमबार
दाङ- सरकारले जनयुद्ध दिवस भन्दै आज फागुन १ गते सार्वजनिक बिदा दिने निर्णयको चौतर्फी विरोध भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते ‘जनयुद्ध दिवस’का दिन सार्वजनिक बिदा दिने निर्णयको सामाजिक सञ्जालदेखि विभिन्न राजनितिक दलका नेता तथा नागरिक समाजका अगुवा लगायतले विदा दिने सरकारको निर्णय प्रति आपत्ति जनाएका छन् ।
सरकारी विदा धेरै हुँदा नागरिकको सेवा प्रवाहमा ढिलाई भइरहेको भन्दै उनिहरुले सरकारको चर्को आलोचना गरेका छन् । सार्वजनिक बिदा धेरै भएकाले कटौती गर्नुपर्ने सुझाव आइरहँदा सरकारले अनावश्यक बिदा थपेको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।
सत्ता घटक दल राप्रपाले नै बिदा दिने निर्णप्रति असन्तुष्टि जनाएको छ । जनयुद्ध दिवसमा बिदा दिने कुरा थाहा पाएपछि हिजोको मन्त्रिपरिषद बैठकमा राप्रपा सहभागि नै भएन। सत्ता गठबन्धनकै ठुलो दल नेकपा(एमाले),विपक्षी दल नेपाली कांग्रेस लगायतले सरकारको निर्णय प्रति असहमति जनाएका छन् ।
जनयुद्ध दिवसको बिदा प्रति एमाले महासचिव पोख्रेलको आपत्ति

सत्ता गठबन्धकै नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनयुद्ध दिवसमा सरकारले सार्वजनिक बिदा दिएकोमा आपत्ति जनाएका छन्। महासचिव पोखरेलले जनयुद्ध दिवसमा बिदा अनावश्यक भन्दै आपत्ति जनाएका हुन्।
सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले भनेका छन्, ‘०४६ पछिका सबैखाले जनसंघर्षको उच्चतम उपलब्धि हो– गणतन्त्रको स्थापना। गणतन्त्र दिवसले ती सबैको यथोचित् सम्मान भएको थिएन ?
जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिएर सरकारले के गर्न खोजेकोः कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनयुद्ध दिवसमा बिदा दिएर सरकारले जनतासामु के सन्देश दिन खोजेको भनी प्रश्न गरेका छन्।
सोमबार बिहान ट्वीट गर्दै कोइरालाले जनयुद्ध दिवसलाई संविधानले चिन्दै नचिनेको बताएका छन्। एकातिर प्रधानमन्त्रीले सार्वजनिक बिदा धेरै भयो भन्ने अर्कातिर जनयुद्ध दिवसका नाममा बिदा दिने घोषणाले के सन्देश दिन खोजेको प्रष्ट नभएको उनको भनाइ छ।उनले प्रश्न गरेका छन्,देश कता जाँदैछ? कस्तो शासनव्यवस्थाको अभ्यास गर्न खोजिँदैछ?
हजारौ निर्दोष नागरिकको ज्यान लिने हिंसा दिवस हुनै सक्दैनः कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सरकारले दिएको सार्वजनिक विदाको विरोध गरेका छन्।
थापाले सामाजिक सञ्जालमा विदाको विरोध गर्दै आइतबार हजारौं निर्दोषको ज्यान लिने माओवादी हिंसा राष्ट्रिय पर्व हुन नसक्ने भन्दै आपत्ति जनाएका छन्।
साथै उनले यही मौकामा यस्तो निर्णय लिँदासमेत राजा र हिन्दु राष्ट्रको वकालत गर्ने पार्टी कुन मुखले सरकारमा बसिरहेको छ भन्दै राप्रपामाथि प्रहारसमेत गरेका छन्।
तत्कालीन माओवादीले २०५२ फागुन १ गतेदेखि सुरु गरेको सशस्त्र युद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । यसकै सम्झनामा माओवादीका नेता कार्यकर्ताले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउँदै आएकोमा यसपालि माओवादी नेतृत्वकै सरकार भएको बेला सार्वजनिक बिदा दिने निर्णय भएको हो । यसअघि बाग्मती र कर्णाली प्रदेश तथा नेकपा माओवादीले नेतृत्व गरेका पालिकामा सार्वजनिक बिदा दिने निर्णय भएको थियो ।
केही दिनअघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत जनसेवा प्रवाह प्रभावित भएकाले सरकारले दिँदै आएका सार्वजनिक बिदामा पुनर्विचार गर्नुपर्ने बताएका थिए।
६ दिनअघि सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले सेवा प्रवाहमा समस्या भएको र सरकारी काम प्रभावित भएको भन्दै सार्वजनिक बिदा कम गर्ने बताएका थिए।