फागुन १०,२०७९ बुधबार
काठमाडौं । नेपाल प्रहरीका डीआईजी अशोक सिंहले राजीनामा दिएका छन् ।
नागरिकता र शैक्षिक प्रमाण पत्रमा उमेर फरक भएपछि सिंहले प्रहरी प्रधान कार्यालयमा राजीनामा दिनुभएको प्रहरी स्रोतले जनाएको छ । हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहनु भएका सिंहको विसं २०४२ जेठ २२ मा जारी नागरिकतामा उमेर १८ वर्ष उल्लेख गरिएको छ भने शैक्षिक योग्यताको प्रमाणपत्रमा सिंहको जन्ममिति २०२५ साल पुस १६ उल्लेख भएको स्रोतले जनाएको छ । नागरिकताको उमेरअनुसार उहाँको जन्ममिति २०२४ हुनुपर्ने हो ।
सिंह २०५१ चैत ५ मा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गर्नुभएको थियो । सिंह नागरिकता विवादमा नपरेको भए २०८१ चैतसम्म प्रहरी सेवामा रहनुहुन्थ्यो । तर नागरिकता विबाद आएपछि सिंहले सेवा अवधि सकिनु अघिनै राजीनामा दिनु भएको हो । सिंह एआइजी हुँदै प्रहरी महानिरीक्षक बन्ने दाउमा रहेका थिए । डीआईजी सिंहमाथि उमेर सच्याएर प्रहरी सेवामा प्रवेश गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो त्यसपछि सिंहको सिटरोल र नागरिकतामा रहेको जन्ममिति खोजबिन भएको हो ।
सिंहको नागरिकता र शैक्षिक प्रमाणपत्रमा १ वर्ष ६ महिना २४ दिन फरक परेको छ । प्रहरी नियमावली २०७१ मा नागरिकता र शैक्षिक प्रमाणपत्रमा १ वर्षभन्दा कम उमेर फरक भेटिएमा शैक्षिक प्रमाणपत्रको उमेरलाई आधिकारिक मान्ने अभ्यास छ ।
सिंहको राजीनामासँगै भावी आईजीपीको दौडमा डीआईजी दीपक थापा, वसन्त कुँवर, टेकप्रसाद राई, मुख्य प्रतिष्पर्धी देखिएका छन् ।