प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। सत्तारूढ गठबन्धनका दलहरूले भागबन्डा गरेर मन्त्रालय लिएका छन्।
भागबन्डाअनुसार सबैभन्दा धेरै मन्त्रालय नेकपा (एमाले) ले लिएको छ। एमालेले उपप्रधानमन्त्रीसहित ८ वटा मन्त्रालय लिएको छ भने माओवादी केन्द्रले पनि उपप्रधानमन्त्री ४ वटा मन्त्रालय र १ राज्यमन्त्री पाएको छ।
सत्ता घटकको तेस्रो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि एक/एक उपप्रधानमन्त्रीसहित तीन/तीन मन्त्री र १/१ राज्यमन्त्री पाएका छन्।
सिके राउत नेतृत्वको जनमत पार्टीले एक मन्त्री पाएको छ। पुस ११ गते नै मन्त्रीको शपथ लिएका अब्दुल खानलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ। उक्त मन्त्रालयमा आफू मन्त्री नहुने भन्दै खानले पदभार ग्रहण गरेका छैनन्।
प्रधानमन्त्री प्रचण्डले दुई मन्त्रालय भने अहिले पनि आफैंसँग राखेका छन्।
वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैंले सम्हालेका छन्।
संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद् २५ सदस्यीयभन्दा ठूलो बनाउन पाइँदैन।
यसको अर्थ प्रधानमन्त्री प्रचण्डले आफ्नो मन्त्रिपरिषदमा अब २ जना सदस्य थप्न सक्नेछन्।
बाँकी रहेका दुई मन्त्री प्रधानमन्त्री प्रचण्डले कसलाई देलान्?
सत्तारूढ गठबन्धनमा रहेका जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र प्रचण्डलाई प्रधानमन्त्री बन्न समर्थन गरेका तीन जना स्वतन्त्र सांसद अहिले पनि सरकार बाहिर छन्।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले भने जसपाका लागि नै भनेर ती दुई मन्त्रालय आफूसँग राखेका हुन्।
‘जसपासँग भोलि संवादको ढोका बन्द नहोस् भनेर दुई मन्त्रालय प्रधानमन्त्रीज्यूले आफूसँग राख्नुभएको हो,’ स्रोतले भन्यो,‘अहिले नआए पनि केही दिनपछि जसपा सरकारमा आउँछ भन्नेमा उहाँ विश्वस्त हुनुहुन्छ।’
जसपा अध्यक्ष उपेन्द्र यादवले भने सोमबार भएको सत्ता गठबन्धनको बैठकमा आफ्नो कुरा नै राख्न नपाएको बताएका छन्।
सेतोपाटीसँग कुरा गर्दै यादवले भने- हिजोको बैठकमा हाम्रा कुरा सुन्नै खोजिएन। उहाँहरूले दिएअनुसार मात्रै हामीले लिन पर्ने कुरा आयो। त्यसपछि हामी सरकारमा नगएको हो। हाम्रा कुरा यी हुन् भनेर हामीले भन्नसमेत पाएनौं। न न्यूनतम साझा कार्यक्रममा हाम्रा कुरा सुन्ने काम भयो। न त मन्त्रिपरिषद विस्तारमै हामीसँग छलफल भयो।
तपाईंहरूले उपराष्ट्रपति माग्नुभएको हो भन्ने प्रश्नमा उनले त्यसलाई अस्वीकार गरेनन् तर त्यसबारे छलफल हुन नपाएको बताए।
तपाईंहरूको अडान के हो त भन्ने अर्को प्रश्नमा समेत उनले आफूहरूको अडान भन्ने भन्दा पनि कुनै कुरै नसुनिएको मात्र बताए।
‘अहिले सरकारमा जाने हाम्रो समझदारी हुन सकेन,’ यादवले भने।
तत्काल सरकारलाई समर्थन गरिरहने भए पनि भावी दिनमा के हुन्छ भन्ने कुरा अहिले भन्न नसकिने उनले बताए।
‘अहिले सरकारलाई दिएको समर्थन कायमै छ। आजको दिनसम्म हामीले समर्थन दिएका छौं,’ उनले भने,‘भोलिको कुरा हामीले अहिले भन्न सक्दैनौं।’
प्रतिनिधि सभामा जसपाका १२ सांसद छन्। अध्यक्ष यादव भने सप्तरी-२ बाट पराजित भएका थिए।