२८ कात्तिक २०८१ बुधबार
रुपन्देही । बुटवलको सुप्रिम सहकारीको बचत रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको बयान आज पनि नसकिएपछि भोली पुनः बयान लिइने भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा दुई दिनदेखि जारी बयान लिने कार्य नसकिएपछि बिहीवार बयान लिने गरी आजलाई स्थगित गरिएको छ।आज विहान १० बजेदेखि राति ७ बजेसम्मै लामिछानेसंग ९ घण्टा बयान लिइएको थियो।
रुपन्देही प्रहरीकी प्रवक्ता, प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालका अनुसार आज साँझ ७ बजेसम्म बयान लिँदा समेत नसकिएकाले बिहीवार पनि बयान जारी रहने छ ।हिजो पनि लामिछानेसंग ५ घण्टा बयान लिइएको थियो ।
लामिछानेलाई रूपन्देही प्रहरी कार्यालयमा राखिएको छ। भैरहवापछि स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन अनुसन्धानका लागि काठमाडौँमा पनि बयान लिने तयारी छ।
पोखराबाट मंगलवार भैरहवा लगिएका लामिछानेलाई विमानस्थलबाट सिधै सरकारी वकिल कार्यालय पुर्याइएको थियो। रूपन्देही जिल्ला अदालतले ८ कात्तिकमा लामिछानेसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको थियो।
बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनीरूपमा गोर्खा मिडियामा सारिएको विषयमा नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसँग दुई दिन बयान लिएर पोखरा पठाइएको थियो।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासतबाट रुपन्देही ल्याएर बयान लिइएको हो।
सूर्यदर्शनको झैँ सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध–निर्देशक रहेको गोर्खा मिडियामा लगेर अपचलन भएको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले ठहर गरेको थियो।
बुटवलको सुप्रिम सहकारीबाट जोशीको नाममा दुई करोड ५० लाख र लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।
जोशी र लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।
प्रहरीले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो।
अहिले सहकारीका अध्यक्ष गुरुङ पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन् भने सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा भइसकेका छन्। सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक राईसहित अन्य व्यक्ति भने फरार छन्।