लामखुट्टेको टोकाइबाट जोगिने प्रयत्न गर्नुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मल्हम, औषधि तथा मेसिनहरू प्रयोग गर्न सकिन्छ । घरको झ्यालढोकामा जाली लगाउनु उपयुक्त हुन्छ । साथै, लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाक्ने लुगा लगाउनुपर्छ । अझै यतिबेला बढी जोखिम बालबालिकामा छ । त्यसैले विद्यालय परिसर वरपर उपयुक्त समय मिलाएर औषधिहरू छर्किन आवश्यक छ । यसका साथै सम्भव भएसम्म यस विषयमा सबैलाई जानकारी गराउनुपर्छ । यदि उच्च ज्वरो आएमा, असाध्यै टाउको दुख्ने, आँखा गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेका दागहरू देखा पर्ने, बेहोस हुने आदि लक्षणहरू पनि देखा परेमा तुरुन्तै अस्पताल गई उपचार गरिहाल्नुपर्छ ।

दिन–प्रतिदिन डेंगुको जोखिम बढ्दै गएको छ । जताततै लामखुट्टेको संख्या तीव्र रूपमा वृद्धि हुनुका साथै यसको टोकाइबाट धेरै जना संक्रमित भएर अस्पतालमा भर्ना भएका समाचार तथा सूचनाहरू सञ्चारमाध्यमहरूबाट प्रसारण भइ नै राखेको छ । देशका १० जिल्लामा डेंगु संक्रमणले भयावह रूप लिइसकेको छ । हाल देशका चारवटा जिल्लामा डेंगु भयावह बनेको छ भने ६ जिल्लामा संक्रमण तीव्र रूपमा फैलिराखेको छ । स्वास्थ्य मन्त्रालयको भदौ १९ गतेसम्मको तथ्यांकअनुसार हाल देशभर ५ हजार २९ जनामा डेंगु संक्रमण भएको छ । त्यसमध्ये दुई जनाको मृत्यु भएको छ । यतिबेला अस्पतालहरूलाई बिरामीको चाप खेप्न निकै नै गाह्रो परिराखेको छ । यही समस्यामा आधारित भएर विभिन्न समयमा स्वास्थ्य मन्त्रालयले सिभिल अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, भक्तपुर अस्पताल, ख्वप: अस्पताललगायत स्वास्थ्य कार्यालयका प्रमुखहरूसँग सहकार्य र छलफलहरू गरेर यसलाई नियन्त्रण र रोकथाम कसरी गर्न सकिन्छ भन्नेबारेमा बैठक बसेको थियो । संक्रमित हुने जिल्लाहरूमध्येमा उपत्यकाभित्र सबैभन्दा बढी संक्रमित हुने जिल्ला ललितपुर हो । ललितपुरमा डेंगुबाट एक जनाको मृत्युसमेत भइसकेको छ । हालसम्मको तथ्यांकअनुसार ललितपुरमा १ हजार ८ सय ३२, काठमाडौंमा ८ सय ८८, मकवानपुरमा ५ सय ९८, रूपन्देहीमा ४ सय ३९, धादिङमा १ सय ११, भक्तपुर ९९, तेहथुम ८८, गुल्मी ५९, सिन्धुली ६६ र संखुवासभा ५७ जनामा डेंगु देखिएको छ । यसबाहेक अन्य केही जिल्लामा दुई–चार जनामा मात्रै डेंगु देखिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, काठमाडौंमा भित्रभित्रै संक्रमण फैलिए पनि परीक्षण कम हुँदा संख्या कम आएको अनुमान गरिएको छ । किनकि मानिसहरू अहिले डेंगु बढेको खबर सुनेर स्वयम् नै सतर्कता अपनाउन थालिसकेका छन् । किनकि अवस्था यति भयावह बनिसक्यो कि अब स्वास्थ्य मन्त्रालयले मात्रै डेंगु नियन्त्रण र रोकथाम गर्न नसक्ने बताइसकेको छ । त्यसैले यसलाई रोकथाम गर्न हामी सर्वसाधारण जनताले र अस्पतालहरूले आफ्नो पहुँचबाट सम्भव भएसम्म पहल गर्नुपर्छ । किनकि एउटा ज्वलन्त उदाहरण नै छ कि कोरोना महामारीजस्ता खतरनाक रोगलाई त हामीले माथ गर्न सक्यौं भने त्यसको अगाडि डेंगुसँग हामीले खुट्टा टेक्नु हँुदैन । जबकि सामान्य हेरचाह अनि सतर्कता अपनाउनाले हामी आफू स्वयम् यस रोगबाट बच्न र अरूलाई बचाउन सक्छौं । लामखुट्टेले खास गरी वर्षाको पानी जम्ने टिनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रा टायर, अलकत्रा वा मटीतेलका खाली ड्रमहरू, फूलदानी, गमला, पानीका ट्यांकी आदिमा फुल पार्ने हुँदा आफू बस्ने स्थानवरपर धानखेत, झाडी, फोहरमैला, पानी तथा हिलो जम्मा हुने ठाउँ छ भने उक्त ठाउँहरू सफा राख्नुपर्छ । फोहर जथाभावी नफाल्ने, आकाशबाट परेको पानी जम्मा गरेर नराख्ने गर्नुपर्छ, किनकि रोग लागेर जँचाउन जानुभन्दा रोग लाग्न नदिनु राम्रो हो ।