८ चैत्र २०७९, बुधबार
काठमाडाैं । तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले चैत ५ गते उनीहरुलाई पक्राउ गरि बुधबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा झापा कचनकवलका कृष्णबहादुर कटवाल, बबरमहलका न्यूल्केश श्रेष्ठ, मोरङ सुन्दर हरैंचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्लगण्डकीका लोप्साङ थिन्ले र ललितपुर गोदावरीका विजय लामा रहेका छन् ।
उनीहरुले काठमाडौंको बबरमहल क्षेत्रमा बसेर सरकारी कार्यालयहरुको कागजात, छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरी झुट्टा लिखत तथा नक्कली सिफारिस तयार गरी तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने गरेको अनुसन्धानमा खुलेको छ ।
प्रहरीका अनुसार बबरमहलका न्यूल्केश श्रेष्ठले आफू नक्कली बन्दै अपरिचित व्यक्तिलाई नेपाली नागरिकता बनाउने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।
पक्राउ परेका कटवालले विगत १० वर्षदेखि लाइसेन्स र दर्ता विना नै लेखापढी गर्ने कार्य गर्दै आएका थिए । उनले पक्राउ परेका अर्का व्यक्ति हिरालाल सिवाकोटीसमेतको सहयोगमा विभिन्न व्यक्तिको नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, बसाइसराई, विवाह दर्ता, सम्बन्धविच्छेदजस्ता वडा कार्यालयको सिफारिसलगायतका महत्वपूर्ण कागजात, छाप तथा दस्तखत किर्ते गर्दै आएको प्रहरीको दावी छ ।
गिरोहले तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाउन प्रतिव्यक्ति ३ देखि ५ लाखसम्म लिने गरेको पनि अनुसन्धानबाट खुलेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले आजै प्रहरीले डिजिटल अनलाइन वान एक्स बेट जुवा खेलाएको आरोपमा पक्राउ परेका ६ जनालाइ पनि सार्वजनिक गरेको छ ।