१ आश्विन २०८०, सोमबार
पाल्पा:- तीजमा नाचगान हेर्न गएका युवाहरू बिच भएको झगडाले उग्ररुप लिदा एक जनाको हत्या भएको छ। पाल्पाको तिनाउमा गएराति तिजको नाछ हेर्न गएका गाउँपालिका-२ दोभान, घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको चक्कु प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए ।
स्थानीय एक घरमा भेला भएर तीज गीतमा नाच्ने क्रममा सामान्य झगडा हुँदा ती युवकमाथि धारिलो हतियार चक्कु प्रहार भएको थियो । गम्भीर घाइते खत्रीलाई उपचारका लागि रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा राति पौने दुई बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
स्थानीय महिला नाचिरहेका बेला ती युवाहरूबीच झगडा भएको थियो । झगडाले उग्र रूप लिएपछि चक्कु प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको चन्दले बताए । हत्याको आरोपमा चार जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।