अरुण कुमार नेपाली
१२ आइतबार २०७९
दाङ—तुलसीपुर उपमहानगरपालिकाले जनसाङिख्यक विवरण सार्वजनिक गरेको छ ।
राष्ट्रिय जनगणना— २०७८ को तथ्याङ्क अनुसार उपमहानगरपालिकाले १९ वटै वडाको जनसंख्या विवरण सार्वजनिक गरेको हो ।
तथ्याङ्क अनुसार तुलसीपुर उपमहानगरपालिकाको जनसंख्या १ लाख ७९ हजार ७ सय ५ पुगेको छ।
पुरुषहरुको संख्या ८४ हजार ७ सय ६४ अर्थात कुल जनसंख्याको ४७.१७ प्रतिशत छ भने महिलाहरुको संख्या ९४ हजार ९ सय ९१ अर्थात कुल जनसंख्याको ५२.८४ प्रतिशत छ ।लैङ्गिक अनुपात भने ८९.२३ प्रतिशत रहेको छ । अपाङ्गताको संख्या भने कुल जनसंख्याको १.७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
तथ्याङ्क अनुसार तुलसीपुरमा घरधुरी संख्या ४६ हजार १८ रहेको छ भने परिवारको औषत आकार ३.९०६ रहेको छ । साक्षरता भने कुल जनसंख्याको ८३.१ प्रतिशत छ ,जसमा पुरुष साक्षरता ८९.६ प्रतिशत पुगेको छ भने महिला साक्षरता ७७.५ प्रतिशत पुगेको छ ।
आइतबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार १९ वडामध्ये वडा नं.६ को जनसंख्या सर्वाधिक २१ हजार ६ सय ५६ पुगेको छ । जसमा पुरुषहरुको संख्या १० हजार २ सय ५५ रहेको छ भने महिलाको संख्या ११ हजार ४ सय १ रहेको छ ।
त्यसपछि धेरै जनसंख्या हुने वडामा क्रमशःवडा नं.७ को १३ हजार ८६८,वडा नंंं.५ को १३ हजार ६सय ४७, वडा नं.९ को १३ हजार ४सय ६४ र वडा नं.१२ को १० हजार ८ सय ९७ रहेको छ ।कम जनसंख्या हुने वडाको सूचिमा वडा नं.१ रहेको छ जसको जनसंख्या ४ हजार ६ सय ६० पुगेको छ । दोस्रोमा वडा नं.२ रहेको छ जसको जनसंख्या ४ हजार ८ सय ७७ पुगेको छ ।
