९ श्रावण २०८० मंगलबार
दाङ:— तुलसीपुर उपमहानगरपालिकाले आफूमातहत रहेका सामुदायिक विद्यालयमा पढाउने स्थानीय विषयको पाठ्यपुस्तक तयार गरेको छ ।
नगरपालिकाले कक्षा एकदेखि कक्षा आठसम्म अनिवार्य विषयका रूपमा हाम्रो तुलसीपुर नामक उक्त पाठ्यपुस्तकको अध्यापन थालेको हो ।कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम गतवर्ष नै तयार पारिए पनि यो चालु शैक्षिक सत्रबाट कक्षा ४ देखि कक्षा ८ सम्मको मात्रै तयार पुस्तक निर्माण गरिएको छ ।
पुस्तकको मंगलबार एक कार्यक्रमका बीच विमोचन समेत गरिएको छ ।कक्षा एकदेखि तीनसम्मको पाठ्यपुस्तक भने आगामी शैक्षिक सत्रमा प्रकाशन गरिने छ ।
नेपालको संविधानको भाग–३ मौलिक हकअन्तर्गत धारा–३२ को उपधारा (२) वा (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफूमातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैँले एक विषय अध्ययन–अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । उपमहानगरपालिकाले सोही व्यवस्थाअन्तर्गत यो पाठ्यपुस्तक तयार गरेको हो ।
उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि ८ सम्म उक्त पठन–पाठन प्रक्रिया अघि बढाएको जानकारी दिएको छ ।
पुस्तक विमोचन गर्दै नगरप्रमुख टीकाराम खड्काले स्थानीय पाठ्यक्रममा विद्यार्थीमा नैतिकता,अनुशासन दिलाउनका लागि योग,नैतिक शिक्षाको विषयवस्तु समावेश गरिएको बताए।
उप प्रमुख स्यानी चौधरीले हाम्रो तुलसीपुर पाठ्यपुस्तक स्थानीय पहिचानसंग सम्बन्धित रहेकाले विद्यार्थीको शिक्षण सिकाईमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताईन ।
शिक्षा,युवा तथा खेलकुद महाशाखाका प्रमुख चक्रबहादुर भण्डारीले पुस्तकमा नगरपालिकाको चिनारीका साथै भौगोलिक, सामाजिक सांस्कृतिक, पर्यावरणीय, आर्थिक, ऐतिहासिक लगायतका विषय समेटेर पुस्तक तयार गरिएको जानकारी गराए । भण्डारीले यही चालू शैक्षिक शत्रबाटै पठन–पाठन सुरु गरिएको पनि जानकारी गराए ।
पाठ्यपुस्तक सम्पादनमण्डलका सदस्य उपप्राध्यापक महेन्द्र भण्डारीले छोटो समयमै पाठ्यपुस्तक तयार पार्दा स्थानीयस्तरमा रहेका सूचनाको प्राप्त गर्न नसक्दा केही त्रुटि रहने भएकाले पाठ्यपुस्तक पढेर सुझाव दिन आग्रह गरे । स्थानीय पाठ्यपुस्तक तयार कार्यदलका सदस्य डिल्ली अधिकारीले स्थानीय पाठ्यक्रममै आधारित रहेर पाठ्यपुस्तक तयार पारिएको बताए । उनले पाठ्यपुस्तकलाई व्यवहारिक र ज्ञानमुलक बनाउने गरी तयार पारिएको बताए ।