अरुण कुमार नेपाली
१ चैत २०७९ बुधबार
दाङ—२१ मार्च अर्थात् अन्र्तराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ।तुलसीपुर उपमहानगरपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।
उप —महानगरपालिकाले आउदो चैत ७ गते विभिन्न कार्यक्रम गरी २१ मार्च अर्थात अन्र्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस मनाउने तयारी गरेको कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माले जानकारी दिए। विश्कर्माका अनुसार तुलसीपुर क्षेत्रका दलितसंग सम्बन्धित दर्जन बढि विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्य र समन्वयमा दिवसका अवसरमा कार्यक्रम गर्न लागिएको हो ।
संयक्त राष्ट्र संघले सन् १९६५ मा जातीय विभेद उन्मुलन सम्बन्धि महासन्धि पारित गरी जाति तथा रंगभेद उन्मुलन दिवसको रुपमा मनाउने घोषणा गरे पनि नेपालले भने सो महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो । तर यो दिवस भने सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ ।यसवर्ष पनि जातिय भेदभाव अन्त्यका लागि चेतना जगाउने उद्देश्यका साथ विभिन्न जिल्ला र ग्रामीण स्तरमा समेत विभिन्न कार्यक्रम आयोजना हुदैछन् ।
कार्यक्रम गर्ने बारे नगरपालिकाले विभिन्न सरोकारवालाहरुसंग छलफल समेत गरेको छ ।दिवसका अवसरमा तुलसीपुरमा झाकी जुलुस सहितको बृहत र्याली ,अन्तरक्रिया तथा सम्मान कार्यक्रमको आयोजना समेत गरिएको छ ।
कार्यपालिका सदस्य यमुना परियारको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय दलित समाज कल्याण संघका केन्द्रिय उपाध्यक्ष जोगेन्द्र विश्वकर्मा, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव निर्मल नेपाली, दलित महिला संघ दाङका अध्यक्ष युवा करारा, कार्यपालिका सदस्य बसन्ता केसी, दलित सेवा संघका छवि परियार , विभिन्न वडाका दलित महिला सदस्यहरु लगाएतले बोलेका थिए ।बैठकको सहजीकरण महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठले गरेका थिए ।