अरुण कुमार नेपाली
१९ असार २०८० मंगलबार
दाङ—पछिल्लो समय भएका जातिय भेदभाव तथा छुवाछुत सम्बन्धिका घटना प्रति दलित अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् ।केही दिन अघि दाङको घोराहीमा र जुम्लामा भएको घटना प्रति उनिहरुले आपत्ति जनाएका हुन् ।
दलित अधिकारको लागि काम गर्दै आइरहेको संस्था नेपाल उत्पीडित जातिय मुक्ति समाज दाङले घोराहीमा डेरा लिएर बसोबास गर्दै आइरहेका अंगराज परियार र महेन्द्र बि.क.लाई जातकै कारण घरबेटीले घरबाट निकालेको घटना तथा जुम्लामा अन्तरजातिय विवाह गर्ने केटाको घरमा नियोजित रुपमा गरिएको आगजनीको घटनाप्रति निन्दा गरेको छ ।
मुक्ति समाजले मंगलबार विज्ञप्ति जारी गर्दै हालै भएका यी दुई घटना सिंगो दलित समुदाय माथिको प्रहार भएको जनाएको छ ।दुवै घटनाका दोषीलाई तत्काल कानून बमोजिम कारबाही गर्न समेत मुक्ति समाजले सम्बन्धित निकायसंग माग गरेको छ ।असार १५ गते घोराहीका १७ का ताराप्रसाद पोख्रेलले आफ्नो घरभाडा बस्दै आएका परियार र बि.क.लाई जातिय आधारमा विभेद गर्दै डेराबाट निकालेका थिए । पोख्रेल अहिले जिल्ला प्रहरी कार्यालय दाङमा थुनामा रहेका छन् ।
साथै जुम्लाको तातोपानी गाउँपालिका वडा नम्वर ४ का चन्द्रविर नेपालीका छोरा मुकेन्द्र नेपाली र सोही ठाउँका श्रीराम गिरीको छोरी वसन्ती गिरी बिच भएको प्रेम विवाहलाई लिएर केटीका आफन्तीले केटाको घरमा आगजनी गरेको घटनाप्रति पनि मुक्ति समाजले निन्दा गरेको छ ।
केटी पक्षका आफन्तीले असार १५ गते बिहान ३ बजे केटा(चन्द्रविर नेपाली)को घरमा परिवार सबै सुतिरहेको समयमा आगजनी गरेका थिए ।घटना पश्चात चन्द्रविर र वसन्तीको अवस्था अज्ञात रहेको छ ।यी घटना मानव अधिकारका दृष्टिले निकै दुखद र निन्दनिय भएकाले घटनामा संलग्न सबैलाई कानूनी दायरामा ल्याई कारबाही गर्न मुक्ति समाजले माग गरेको छ ।