कात्तिक २७,२०८१
तुलसीपुर । दाङको एक वडाले दलित शसक्तिकरणका लागि हाल प्रदर्शनमा रहेको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ त्यस समुदायका नागरिकलाई हलमै लगेर देखाएको छ ।जिल्लाको तुलसीपुर उपमहानगरपालिका ११ ले वडाभित्रका ६५ जना दलितलाई समुदायका नागरिकलाई उक्त चलचित्र देखाएको हो ।
सामाजिक रुपान्तरणमा चलचित्रको महत्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई फिल्म देखाईएको उक्त वडाका वडाध्यक्ष मानबहादुर रावतले बताए ।चललिचत्र हेर्नका निम्ति वडाले आफ्नै लगानीमा टिकट,यातायात र खाजा खर्चको व्यवस्था गरेको वडाध्यक्ष रावतले बताए।
‘पूर्णबहादुरको सारंगी’ ले समाजमा व्याप्त रहेको वेथिति र विभेदलाई छर्लङै हुने गरी उठान गरेकाले फिल्मले सामाजिक सशक्तिकरण र रुपान्तरण महत्वपूर्ण भूमिका निर्वाह गर्ने वडाध्यक्ष रावतले विश्वास व्यक्त गरे ।मूलतःचलचित्र दलित समुदायमाथि हुने गरेको विभेदमा केन्द्रित गरेर निर्माण गरेकाले दलित समुदायको सशक्तिकरणमा यसले झनै महत्वपूर्ण भूमिका खेल्ने बताए ।उक्त चलचित्र अहिले दाङको नारायणपुर स्थित भिएफएक्स हलमा पनि सफलताका साथ प्रदर्शनरत छ ।
चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले नेपाली समाजमा आमाबिना बालबालिका अलपत्र पर्ने अवस्थालाई चित्रण गरेको र एक आमा फेरि विवाह गरेर गएपछि पनि बुवाले आफ्ना सन्तानलाई राम्रो शिक्षा दिन सक्छन् भन्ने सन्देश दिएकोले वडाका दलित समुदायलाई सचेतना दिन चलचित्र हेर्ने व्यवस्था मिलाएको वडा अध्यक्ष रावतले बताए ।
उनले हाल समाजमा अझै पनि धेरै बालबालिका आफ्ना आमाबुवाको अवहेलनाको कारणले उच्च शिक्षाबाट वञ्चित हुने परिस्थितिको उदाहरण रहेको र यसले अभिभावकहरूको जिम्मेवारीबोधमा सुधार ल्याउनुपर्ने देखाएको बताए ।
वडा अध्यक्ष रावतले दलित सशक्तिकरणका लागि वडाले सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरूको महत्वलाई जोड दिएको बताए।चलचित्र हेर्नका लागि राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा समेत हलमा पुगेका थिए ।