१५ पुस २०८१ सोमबार
दाङ। नेकपा एमालेका महासचिव शंकर पाखरेलले सर्वदलिय सहमतिमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने बताएका छन।नेकपा एमाले दाङ प्रचार तथा प्रसार विभागले सोमबार घोराहीमा आयोजना गरेको नेपाल पत्रकार महासंघमा निर्वाचित कार्यसमितिलाई सम्मान तथा साक्षात्कार कार्यक्रमा महासचिव पोखरेलले संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर अधिकतम सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउने बताएका हुन ।
‘संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर अधिकतम सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने कांग्रेस–एमालेको तयारी सुरु भएको छ,’ महासचिव पोखरेलले भने, ‘संविधान संशोधनको मुद्दा झिकेर अस्थिरता पैदा गर्ने खेल हुन सक्छ । परिस्थिति परिपक्क नहुँदासम्म संविधान संशोधनको काम अघि बढ्न सक्दैन ।’
तीन तहका सरकारको कामलाई प्रभावकारी बनाउनेगरी संरचना सुधार,अधिकारमा स्पष्टता र कानून सुधार गरेर जान सक्ने बारेमा समेत गृहकार्य गरिरहेको महासचिव पोखरेलले बताए ।सरकारमा सहभागी दुई प्रमुख पार्टी कांग्रेस र एमालेलाई असफल हुने छुट नरहेको दाबी गर्दै महासचिव पोखरेलले निरासा चिर्दै समृद्ध मुलुकको संकल्प पुरा गर्ने दिशामा सरकार लागिपरेको बताए
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको वर्तमान सरकारले धेरै क्षेत्रमा सुधार गर्न सफल भएको दाबी गर्दै महासचिव पोखरेलले भने, ‘विगतमा धेरै सुधार भएको छ । राजश्व संकलन बढेको छ । विगतमा भन्दा १७ प्रतिशतले राजश्व संकलन बढेको हो । पुँजीगत खर्च बढेको छ । दुई महिनाभित्र सबै भुक्तानीको दायित्व तिर्नुपर्ने बाटोमा सरकार जाँदै छ । मौद्रिक तरलतालाई व्यवस्थित गर्नुपर्ने छ ।’
महासचिव पोख्रेलले संस्थागत पत्रकारीता कमजोर हुँदा सामाजिक सञ्जाललाई पत्रकारीता मान्ने जमात बढ्न थालेको प्रति चिन्ता व्यक्त गरे। ‘संस्थागत पत्रकारीता कमजोर हुँदा अराजकता र स्वच्छन्दावाद हावी भयो,’ उनले भने, ‘तथ्यहिन, भ्रामक र नियोजित चिज बढी खोजिन थाल्यो। संस्थागत पत्रकारीतालाई बलियो बनाउनेगरी नयाँ बहस सुरु गर्नुपर्छ।सोसल मिडिया चलाउँदा बित्तिकै पत्रकार भन्ने गलत अभ्यास चलेको।यो राम्रो होइन।’
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले पत्रकारिता क्षेत्रमा उत्पन्न विकृति बिसङ्गतिलाई न्यूनीकरण गर्दै मर्यादित पत्रकारिताका लागि महासंघ लागिपर्ने बताए । सदस्यता शुद्धिकरणका नाममा महासंघको संस्थागत संरचना कमजोर भएको भन्दै सचिव प्रियासनले सबै समस्या समाधान गर्नका लागि महासंघ नेतृत्वले सफलता प्राप्त गर्ने उनको भनाई छ।