फागुन ३,२०७९ बुधबार
दाङ : नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङमा प्राकृतिक चिकित्सा तथा योग विज्ञान अध्यापन हुने भएको छ।
विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले नेपालमै पहिलो पटक प्राकृतिक चिकित्सा तथा योग विज्ञान अध्यापन हुन लागेको बताए। यसका लागि बेलझुण्डीमा ४३ करोड रूपैयाँ लागतमा शिक्षण भवन निर्माण गर्ने तयारी विश्वविद्यालयले गरेको छ।
‘नेपालमै पहिलो पटक विश्वविद्यालयमा प्राकृतिक चिकित्सा तथा योग विज्ञानको पठनपाठन शुरु हुँदै छ,’ उनले भने‚ ‘यसका लागि ४३ करोडको भवन बनाउने गरी लागत अनुमान भएको छ।’
प्राकृतिक चिकित्सा र आयुर्वेदमा स्नातक (बिएएमएस) का विद्यार्थीका लागि २०० शय्याको एकीकृत शिक्षण अस्पताल सञ्चालनको तयारीसमेत रहेको छ।
प्रदेश र संघको सहकार्यमा उक्त अस्पताल सञ्चालनमा ल्याइने भएको हो। त्यसका लागि प्रदेश र संघले पछिल्ला दुई आर्थिक वर्षमा १८ करोड रूपैयाँ बजेटसमेत उपलब्ध गराएको छ।
त्यसका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) पनि भइसकेको छ। अस्पतालको लागत ६८ करोड अनुमान गरिएको छ। बेलझुण्डी शिक्षण अस्पतालको उत्तरतर्फ ६ बिघा जग्गामा अस्पताल निर्माण हुनेछ।