२५ श्रावण २०८०, बिहीबार
दाङ :– दाङमा प्रहरीले धारिलो हतियार खुकुरी प्रहार ज्यान मार्ने प्रयास गरेर फरार रहेका ६ जनालाई पक्राउ गरेको छ।
गत साउन १० गते घोराही १८ शङ्खे पिपलनजिक घोराही-१३ लाहुरे डाँडा बस्ने १८ वर्षीय तीर्थबहादुर पुनलाई अपरिचित ३/४ जनाको समूहले धारिलो हतियार प्रहार गरि गम्भीर घाइते बनाएका थिए।
उनको टाउको, अनुहार र बायाँ हातको कान्छी औँलाबाहेक सबै औँलाको हड्डी काटिएको, औँला हातमै रही गम्भिर घाइते भएको अवस्थामा वडा प्रहरी कार्यालय घोराही दाङको प्रहरी टोलीले फेला पारी तत्काल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको लागि पठाएको थियो।
उनलाई थप उपचारका लागि साउन ११ गते मेडिकल कलेज भैरहवामा रिफर गरिएको र हालसम्म उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले अनुसन्धान गर्दा घटनाको १४ दिनपछि बुधबार उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त कार्यालय प्रमुख एवं डीएसपी राजनकुमार गौतमले जानकारी दिए।
पीडितबाट ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा जाहेरी लिई दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनको भनाइ छ।