१४ श्रावण २०८० आइतबार
दाङः— दाङमा चितलको १७ केजी सुकुटीसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले गढवा गाउँपालिका वडा नम्बर ६ का ३० वर्षिय मनोज थापा मगर, सोही ठाउँका ३१ वर्षिय करण केसी र लमही नगरपालिका वडा नम्बर ६ का नुर बहादुर कुमाललाई आईतवार बेलुका साढे पाँच बजेतिर चितलको १७ केजी सुकुटी सहित पक्राउ गरेको हो ।
तीनै जनालाई घोराही(३ कुहिरेपानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिए ।
लमही देखी घोराही तर्फ आउदै गरेको रा २ प ६१९५ नम्बरको मोटरसाईकल र निज संगै रहेको बा ९१ प ११०७ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा सोही बा ९१ प ११०७ नम्बरको मोटरसाईकल पछाडी सवार करण केसीले प्लाष्टिकको जेब्रा झोला बोकेको अवस्थामा चितलको सुकुटी बरामद गरिएको प्रवक्ता गौतमले बताए ।पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय घोराही दाङमा बुझाईएको प्रहरीले जनाएको छ ।