
दाङ । जेनजी प्रदर्शनका क्रममा दाङ जिल्लामा ठूलो क्षति भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार हालसम्म १८८ वटा सवारीसाधन जलेर नष्ट भएका छन् ।
उनीका अनुसार ४४ वटा चारपाङ्ग्रे सवारीसाधन (टिपर, ट्र्याक्टर, स्काभेटर, टेलर, लोडर, दमकललगायत) पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । त्यस्तै १३३ वटा मोटरसाइकलमा ८३ सरकारी, ४७ निजी र ३ वटा निजी स्कुटर रहेका छन् भने १० वटा साइकल समेत जलेका छन् ।
उच्च अदालत तुलसीपुरका पाँच वटा सवारीसाधन र तीन वटा निजी मोटरसाइकल जलेर नष्ट भएका छन् । तुलसीपुर उपमहानगरमा छवटा सरकारी, एकवटा निजी सवारीसहित एकवटा दमकल र मोटरसाइकल जलेका छन् । घोराही उपमहानगरमा दुईवटा गाडी र सातवटा मोटरसाइकल जलेर नष्ट भएका छन् भने आन्तरिक राजस्व कार्यालय तुलसीपुरका दुईवटा गाडी र पाँचवटा मोटरसाइकल जलेका छन् ।
लोकसेवा आयोग तुलसीपुरका दुईवटा गाडी र पाँचवटा मोटरसाइकल, बबई गाउँपालिकाका नौवटा मोटरसाइकल (छ सरकारी र तीन निजी) र जिल्ला समन्वय समितिका तीन गाडी तथा १८ वटा मोटरसाइकल जलेर नष्ट भएका छन् ।
यस्तै, जिल्ला ट्राफिक कार्यालय दाङका दुईवटा गाडी र २९ मोटरसाइकल, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय तुलसीपुरका एक गाडी र आठवटा सरकारी मोटरसाइकल समेत जलेर क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी बुढाले जानकारी दिएका छन् ।
भू तथा जलाधार संरक्षण कार्यालय, प्रदेश निर्वाचन कार्यालय, सडक विभाग तथा पूर्वाधार कार्यालयसहित दुई दर्जन बढी सरकारी कार्यालयका सवारीसाधन जलेर नष्ट भएको र ३४ भन्दा बढी संरचना क्षतिग्रस्त भएको पनि उनले बताए ।