शुक्रबार, पुस ५, २०८१
तुलसीपुर ।दाङमा धारिलो हतियार प्रहारबाट दुई जना गम्भीर घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालीका–१८,माल बिजौरीमा गएराति एक समुहले धारिलो हतियार (ग्राँसी) प्रहार गर्दा दुईजना गम्भीर घाइते भएका हुन् ।
बिहिबार राति करिब १० बजेतिर प्रचण्ड किराना पसलमा सामान किन्न गएका तुलसीपुर–७ का ३० वर्षका सुरेश रसाइली र २८ वर्षका सुरज पुनलाई स्थानीय एक युवाको समुहले ग्राँसीले आक्रमण गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
प्रहरी निरीक्षक थापाका अनुसार घटनामा तुल्सीपुर–१८ का अन्दाजी ३१ वर्षका प्रकाश चौधरी,सन्दीप चौधरी र रेशम चौधरीसहित तीन जनाको समुहले सामान किन्दै गरेका उनिहरू दुवैजनालाई आक्रमण गरेका थिए। घटनामा सुरेशको बाँया कानको छेउमा गहिरो चोट लागेको छ भने सुरजको बाँया हात भाँचिएको छ।
घाइते दुवै जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ।
घटनामा संलग्न तीनै जना आरोपी फरार रहेका छन्।उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।उनिहरुमाथि के कति कारणले आक्रमण भएको भन्ने विषयमा अझै केही खुल्न सकेको छैन ।