२५ मंसिर, दाङ ।
२५ मंसिर, दाङ । ‘हनी ट्रयाप’ मा पारेर पैसा असुल्न खोजेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
प्रेमको नाटक गरी आर्थिक लाभ उठाउन खोज्ने दुई महिला र एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजनकुमार गौतमका अनुसार पक्राउ पर्नेमा गढवा गाउँपालिका– ६ घर भई हाल तुलसीपुर उपमहानगरपालिका–६ दशरथ टोलमा बस्ने अनुष्का सिंह भनिने ३५ वर्षीया कृष्णा गहतराज, तुलसीपुर–१८ ग्वारखोला बस्ने ३८ वर्षीया कृष्णाकुमारी बस्नेत र घोराही उपमहानगरपालिका–१० नारायणपुर बस्ने जनक भनिने २६ वर्षीय रुद्रबहादुर केसी रहेका छन् । आरोपित अनुष्का भनिने कृष्णा गहतराजले दाङका ४५ वर्षीय एक पुरुषसंग प्रेमको नाटक गरी पटक पटक रकम असुल्दै आएकी थिइन । पीडित पुरुष र आरोपित महिला दुवै विवाहित भएको खुल्न आएको छ । कृष्णा गहतराजको भने विवाह पछि डिभोर्स भइसकेको छ। सामान्य चिनाजान पछि उनीहरु बीच नजिकको सम्बन्ध बनेको थियो । कृष्णाले सुरुदेखि नै पीडित भनिएका पुरुषबाट आर्थिक लाभ लिँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार ती पुरुषले हालसम्म अनुष्का भनिने कृष्णा गहतराजलाई ३५ लाख रुपैयाँ दिइसकेका छन् ।कृष्णाले घरजग्गा समेत किनिदिन भन्दै ५ करोडको बार्गेनिङ गरी पीडित पुरुषलाई मात्र नभै उनको परिवारलाई समेत धम्याउँन थालेपछि घटना प्रहरी कहाँ पुगेको थियो ।प्रहरीले आरोपित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।