दार्चुलामा यस वर्ष शैक्षिक सत्र सुरुवातसँगै नौवटै स्थानीय तहमा पाठ्यपुस्तक उपलब्ध भएका छन्।
विगत वर्षमा शैक्षिक सत्र सकिनै लागेका वेला मात्र विद्यार्थीले पुस्तक पाउने अवस्था थियो। यस वर्ष भने उनीहरूले समयमै किताब पाउने भएका छन्।
धेरैजसो स्थानीय तहमा पाठ्यपुस्तक पुगिसकेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख जयराज पन्तले जानकारी दिए। जिल्लाका दुर्गम गाउँका विद्यालयमा पनि विद्यार्थी भर्ना भएसँगै पुस्तक वितरण गरिने उनले बताए । समयमा नै पुस्तक पुगेपछि यहाँका विद्यार्थी, शिक्षक तथा अभिभावकमा खुसी छाएको छ।
‘यस वर्ष समयमै पाठ्यपुस्तक पुग्दा खुसी छौँ, यसरी नै हरेक वर्ष पाठ्यपुस्तक समयमै पुगे पठनपाठनमा सजिलो हुन्थ्यो,’ अपिहिमाल गाउँपालिकास्थित खण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक खडक बोहराले भने।

मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकामा वैशाख २ गते नै पाठ्यपुस्तक पठाइएको इकाइ प्रमुख पन्तले बताए। त्यस्तै दुँहु र व्याँस गाउँपालिकाका लागि पनि पाठ्यपुस्तक जिल्ला सदरमुकाम खलंगास्थित न्यु चौलानी पुस्तक पसल र ज्ञानज्याेति पुस्तक पसलबाट ढुवानी भइसकेको न्यु चौलानी पुस्तक पसलका सञ्चालक मनोहर डाँगाले जानकारी दिए।
शैल्यशिखर नगरपालिकामा पनि पाठ्यपुस्तक विद्यालयमा पठाउन थालिएको छ। नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा आइतबारदेखि पाठ्यपुस्तक पठाउन सुरु गरिएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताए। गत वर्ष विद्यार्थीले पुस्तकविना परीक्षा दिएका थिए।
यस वर्ष सरकारले भर्नासँगै विद्यालयमा पाठ्यपुस्तक पुर्याउने व्यवस्था गरेकामा खुसी लागेको शैल्यशिखर नगरपालिका– ६ का अभिभावक मदन धामीले बताए।
नौ स्थानीय तह रहेको दार्चुलामा अपिहिमाल, दुँहु र व्याँस गाउँपालिकाबाहेकका स्थानीय तहमा यातायातको सहज सुविधा रहेकाले पाठ्यपुस्तक ढुवानीमा समस्या छैन।
यातायातको समस्या रहेका तीन गाउँपालिकामा पनि पाठ्यपुस्तक पुगिसकेको इकाइ प्रमुख पन्तले बताए। विगत वर्षमा वार्षिक परीक्षा सकिँदासमेत पुस्तक नपाएका जिल्लाका विद्यार्थी यस वर्ष समयमै पुस्तक पाउने भएपछि खुसी भएका छन्। यही वैशाख ३ देखि ८ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेको पन्तले जानकारी दिए।
केही दिनअघि शिक्षा विकास तथा समन्वय इकाइमा बसेको विद्यालयका प्रधानाध्यापक र स्थानीय तहका शिक्षा शाखा प्रमुखको बैठकले जिल्लामा वैशाख पहिलो हप्तासम्म पाठ्यपुस्तक उपलब्ध गराउने गरी काम गर्न निर्देशन दिएको थियो।
